एक महिनामा १६ मुद्दा 

0
Shares

दोलखा।

जिल्ला प्रहरी कार्यालय दोलखामा एक महिनाको अवधिमा विभिन्न १६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । २०८३ साउन १ देखी २९ गतेसम्म १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए ।

एक महिनाको अवधिमा दर्ता भएका १६ वटा मुद्दामा जर्बजस्ति करणी तीन वटा, अभद्र व्यवहार छ वटा, भवितव्य ज्यान पाँच वटा, झुन्डिएर मृत्यु एक वटा, लागु औषध एक वटा रहेको प्रहरी नायव उपरीक्षक लामाले बताए । विगतको तुलनामा पछिल्लो महिना आत्महत्याको घट्नामा कमी आएको प्रहरीको भनाई छ ।

एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय दोलखामा चालु अवस्थामा रहेका मुद्दाका प्रतिवादी १४ जना पक्राउ परेको र फैसला कार्यान्वयनको क्रममा १४ जना पक्राउ गरी १४ वर्ष आठ महिना कैद तथा आठ लाख ६८ हजार चार सय ७५ रुपैयाँ जरिवाना असुल गरिएको प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खड्काले बताए । 

त्यसैगरी एक महिनाको अवधिमा नौ जना हराएको निवेदन परेको र त्यसमा छ जना भेटिएको तथा तीन जनाको खोजिकार्य भै रहेको प्रहरी निरीक्षक खड्काले बताए । त्यसैगरी घरेलु हिंसा तर्फ पाँच वटा उजुरी परेकोमा पाँचैवटा मिलापत्रमा टुङ्गीएको प्रहरीको भनाई छ । घरेलु हिंसाको उजुरी भीमेश्वर नगरपालिकाबाट तीन वटा र तामाकोशी गाउँपालिकाबाट दुई वटा आएको पनि प्रहरीले जनाएको छ ।

त्यसैगरी एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा प्रत्यक्ष रुपमा १३ वटा ठाडो उजुरी प्राप्त भएकोमा १३ वटै फर्छ्यौट भएको प्रहरी निरीक्षक खड्काले बताए । जिल्ला प्रशासन कार्यालय दोलखा मार्फत जिल्ला प्रहरी कार्यालयमा ५७ वटा उजुरी प्राप्त भएकोमा ४५ वटा फर्छ्यौट भएको प्रहरी निरीक्षक खड्काले बताए । 

जिल्ला प्रहरी कार्यालय दोलखाले साउन महिनामा २०८२ फागुन २४ गते भीमेश्वर नगरपालिका वडा नम्बर– ६ रामकोटमा सडी गली सकेको अवस्थामा मृत भेटिएको तर तत्काल नाम, थर, वतन नखुलेको करिब ६५ बर्षको पुरुषको पहिचान गरी थप अनुसन्धान सुरु गरेको, २०७१ जेठ ३१ गते गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ३ (साबिक झ्याकु गाविस वडा नम्बर– ६) को २० बर्षिया एक महिलाको विष सेवन गरी मृत्यु भएकोमा मृतकको बुबाले सन्दिग्ध ज्यान शीर्षकमा उजुरी गरेकोमा सो समय उक्त मुद्दा पेन्डिङ रहेकोमा अहिले त्यसको अनुसन्धान सकेर सरकारी वकिल कार्यालय पठाएको जनाएको छ । 

त्यसैगरी २०७३ भदौ २७ गते कालिञ्चोक गाउँपालिका वडा नम्बर– ४ (साबिक लामिडाँडा गाविस वडा नम्बर– ५) को एक १९ बर्षिय महिलाले विषादी सेवन गरी मृत्यु भएकोमा मृतकको आफन्तले कर्तव्य  ज्यान शीर्षकमा उजुरी गरेकोमा त्यतिबेला उक्त मुद्दा पेन्डिङमा रहेकोमा अहिले त्यसको अनुसन्धान सकेर सरकारी वकिल कार्यालय पठाएको र २०७४ भदौ २९ गते भीमेश्वर नगरपालिका वडा नम्बर– ३ बसपार्क स्थित एक होटलबाट दुई थान पुरातात्त्विक महत्वको मूर्ति फेला पारी एक जना पुरुषलाई पक्राउ गरी बयान पछि हाजिरी जमानीमा छोडिएको र मुद्दा पेन्डिङमा रहेकोमा त्यसको अनुसन्धान सकेर सरकारी वकिल कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले अपराध नियन्त्रणको लागि नियमित रुपमा छोटो तथा लामो दुरीमा पैदल एवम् सवारी गस्ति गर्ने र समस्यामा केन्द्रित रही समुदाय– प्रहरी साँझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी नायव उपरीक्षक मनोज कुमार यादव बताउँछन् ।