क्षितिज र प्रिन्स फाइनलमा


काठमाडौं, (नेस) ।

जारी १४ औं पुष्पलाल स्मृती राष्ट्रिय वरियता ब्याडमिन्टनको शीर्ष ८ अन्तर्गत् पुरुष एकलतर्फको उपाधि एपीएफका खेलाडीले जित्ने पक्का भएको छ ।

शनिबार भएको सेमिफाइनल खेल जित्दै एपीएफका क्षितिज खनाल र नम्बर एक खेलाडी प्रिन्स दाहाल फाइनलमा प्रवेश गरेका हुन् । क्षितिजले लिगमा प्रिन्सलाई पराजित गरेका थिए ।

पहिलो सेमिफाइनलमा क्षितिजले पिस फिटनेश क्लबका बिष्णु कटुवाललाई १८–२१, २१–७, २२–२० ले पराजित गरेका थिए । यस्तै, अर्को सेमिफाइनल खेलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २२–२४, २१–१४, २१–१२ ले हराएका थिए ।

यसैगरी महिला शिर्ष ८ एकल फाइनल प्रतिस्पर्धामा नम्बर एक आर्मीकी रसिला महर्जनको सामना पुलिसकी शेस्ना श्रीपालीसँग हुनेछ । सेमिफाइनल खेलमा रसिलाले पुलिसकी निता लम्सालमाथि २१–१३, २१–१३ को जित निकालेकी थिइन् । अर्को खेलमा भने शेस्नाले एपीएफकी रिहाना शेरचनलाई २१–१६, २१–१८ ले हराएकी थिइन् ।