खोटाङ।
खोटाङमा गोलिया काठ लोड गर्ने क्रममा सोही काठले किचिएर एक युवकको मृत्यु भएको छ । ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर धनकुटाको पाख्रिवास नगरपालिका–३ पाख्रीवासका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार कोलिया काठ लोड गर्नेक्रममा सोही काठले किचिएर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वी तराईका जिल्ला निकासीका लागि गोलिया काठ बोकेर हिँडेको ट्याक्टर सडकमै पल्टिएपछि खसेको काठ उठाएर पुनः लोड गर्नेक्रममा मगरको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको गोलिया काठ लोड गरेर डोरीले बाँध्नेक्रममा चिप्लिएर गोलियासँगै लडेका मगरलाई काठले किचेर मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतले जनाउनुभयो । गोलिया काठ बोकेर फोक्सिङटारतर्फ हिँडेको ट्याक्टर शुक्रबार बिहान करिब ४ बजे भएको दुर्घटनामा ज्यान गुमाएका मगरको शव आफन्त नआएसम्मका लागि सुरक्षित गर्न घटनास्थलमै राखिएको प्रहरीले जनाएको छ ।
घटनापछि ट्याक्टरसहित ट्याक्टर चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ चानुवाडाँडाका १९ वर्षीय सुनिल गुरुङलाई स्थानीय प्रहरी चौकी छितापोखरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरीक्षक नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जनाउनुभयो । घटनास्थल सदरमुकाम दिक्तेलबाट टाढा भएकाले इलाका प्रहरी कार्यालय खोटाङबजारबाट अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।।











प्रतिक्रिया