युवालाई देशमै रोक्ने नीति ल्याऊ सरकार

0
Shares

कुनै पनि देशको विकास, समृद्धि र भविष्य निर्माणको मुख्य आधार भनेकै युवा जनशक्ति हो । युवा देशका वर्तमान मात्र होइनन्, उनीहरू नै देशका भविष्यका निर्माता पनि हुन् । त्यसैले कुनै पनि सरकारले देशको नीति, योजना र कार्यक्रम निर्माण गर्दा युवालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने हुन्छ । तर आज नेपालको अवस्था हेर्दा देशको सबैभन्दा महत्वपूर्ण शक्ति मानिएको युवा जनशक्ति दिनप्रतिदिन विदेश पलायन भइरहेको छ । गाउँका खेतबारी बाँझिँदै छन्, उत्पादन घट्दै गएको छ, परिवारहरू विखण्डित हुँदै छन् र देशको ठूलो जनशक्ति आफ्नो श्रम र सीप विदेशी भूमिमा बेच्न बाध्य भइरहेको छ । यो अवस्था देशका लागि गम्भीर चुनौती हो ।

सरकारले अब युवाको विदेश पलायनलाई केवल व्यक्तिगत रोजगारीको विषयका रूपमा हेरेर पुग्दैन । यो राष्ट्रिय समस्या हो, राष्ट्रिय चिन्ताको विषय हो । आज एउटा युवा विदेश जान्छ भने त्यससँगै एउटा परिवारको आशा, एउटा गाउँको श्रमशक्ति र एउटा देशको उत्पादनशील क्षमता पनि विदेशिन्छ । त्यसैले सरकारले तत्कालै युवालाई देशमै रोक्ने स्पष्ट, दीर्घकालीन र व्यावहारिक नीति ल्याउन आवश्यक छ ।

युवालाई देशमै रोक्ने पहिलो आधार भनेको शिक्षा नीति हो । विद्यालय तहदेखि नै नैतिक, व्यावसायिक, प्राविधिक र व्यावहारिक सीपमूलक शिक्षा प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । हाम्रो पुरानो घोकन्ते शिक्षा प्रणालीले विद्यार्थीलाई प्रमाणपत्र त दिएको छ, तर जीवनमा आवश्यक पर्ने सीप, उद्यमशीलता र आत्मनिर्भर बन्ने क्षमता पर्याप्तरूपमा दिन सकेको छैन । विद्यालय र विश्वविद्यालयबाट शिक्षा हासिल गरेपछि पनि रोजगारी खोज्दै भौँतारिनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।

अबको शिक्षा नीति ‘पढ, प्रमाणपत्र लेऊ र जागिर खोज’ भन्ने सोचबाट माथि उठ्नुपर्छ । ‘पढ, सीप सिक, उत्पादन गर र रोजगारी सिर्जना गर’ भन्ने अवधारणालाई शिक्षाको मूल आधार बनाउनुपर्छ । विद्यार्थीलाई कृषि, पशुपालन, पर्यटन, सूचना प्रविधि, निर्माण, उद्योग, ऊर्जा, हस्तकला, उद्यमशीलता तथा अन्य व्यावसायिक क्षेत्रमा आवश्यक पर्ने ज्ञान र सीप विद्यालय तहदेखि नै प्रदान गर्नुपर्छ । शिक्षा र श्रमबीचको दूरी अन्त्य गर्न सकियो भने मात्र युवालाई आत्मनिर्भर बनाउन सकिन्छ ।

सरकारले युवालाई विदेश जानबाट रोक्न खोज्ने हो भने देशभित्रै काम गर्ने वातावरण पनि निर्माण गर्नुपर्छ । केवल भाषण गरेर वा विदेश नजान आग्रह गरेर युवा देशमा बस्ने छैनन् । उनीहरूलाई सम्मानजनक रोजगारी, उचित पारिश्रमिक, सुरक्षित श्रम वातावरण र भविष्यप्रतिको आशा चाहिन्छ । एउटा युवाले नेपालमै आफ्नो परिवार पाल्न, घर बनाउन, व्यवसाय गर्न र सम्मानपूर्वक जीवन बिताउन सक्ने अवस्था सिर्जना गर्न सकेमा ऊ स्वेच्छाले विदेश जाने बाटो रोज्दैन ।

यसका लागि सरकारले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइको व्यवस्था, मल तथा बीउको सहज उपलब्धता, कृषि उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्नुपर्छ । अहिले गाउँका धेरै खेतीयोग्य जमिन बाँझिँदै गएका छन् । युवा जनशक्ति विदेशिएपछि खेतबारीमा काम गर्ने मानिसको अभाव भएको छ । यो अवस्था निरन्तर रहिरह्यो भने भोलि देश खाद्यान्नमा समेत परनिर्भर बन्न सक्ने खतरा छ । त्यसैले युवालाई माटोसँग जोड्ने र कृषिलाई सम्मानित तथा लाभदायक पेसाका रूपमा स्थापित गर्ने नीति आवश्यक छ ।

सरकारले ‘श्रम गर्ने मानिस सानो होइन’ भन्ने संस्कार विकास गर्नुपर्छ । हाम्रो समाजमा श्रमलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ । कार्यालयमा बसेर गर्ने काम मात्र सम्मानित र खेतबारीमा पसिना बगाउने काम कम सम्मानित भन्ने गलत सोच अन्त्य गर्नुपर्छ । किसान, मजदुर, उद्यमी, व्यवसायी, प्राविधिक तथा श्रमिक सबैको श्रमलाई समान सम्मान गर्ने संस्कृति निर्माण गर्नुपर्छ । श्रमको सम्मान भएको समाजमा मात्र उत्पादन बढ्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माण हुन्छ ।

युवालाई देशमै रोक्न सरकारले सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम, स्टार्टअप सहयोग, उद्यमशीलता विकास र बजारको सुनिश्चितता गर्नुपर्छ । युवाले व्यवसाय शुरु गर्न खोज्दा बैंकको चर्को ब्याज, प्रशासनिक झन्झट र बजारको समस्याका कारण निराश हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । एकजना युवाले रोजगारी खोज्ने मात्र होइन, उसले अरू युवालाई समेत रोजगारी दिन सक्ने वातावरण बनाउनुपर्छ । राज्यले युवालाई अनुदानको मात्र होइन, अवसरको साझेदार बनाउनुपर्छ ।

सरकारले विदेश जाने युवालाई दोष दिनुहुँदैन । उनीहरू रहरले मात्र विदेश गएका होइनन्, धेरै युवा बाध्यताले विदेशिनुपरेको वास्तविकतालाई राज्यले बुझ्नुपर्छ । देशभित्र रोजगारी र अवसर नपाएपछि आफ्नो भविष्य खोज्दै विदेश जानु युवाको दोष होइन । त्यसैले समस्या युवामा होइन, देशभित्र पर्याप्त अवसर सिर्जना गर्न नसक्ने नीतिमा खोजिनुपर्छ ।

सरकार कान खोलेर सुनोस्– जसको जगमा तिमी उभिएका छौ, त्यो जग नै कमजोर हुँदै गयो भने भोलि त्यो जग भत्किन धेरै समय लाग्ने छैन । देशको राजनीतिक, आर्थिक र सामाजिक भविष्य युवाको हातमा छ । त्यसैले आजको सरकारले युवाको आवाज सुन्नै पर्छ । युवाका माग र अपेक्षालाई सम्बोधन गर्दै देशमै काम गरेर खाने वातावरण तत्काल निर्माण गर्नुपर्छ ।

युवालाई विदेशी भूमिमा श्रम बेच्न पठाएर गाउँका खेतबारी बाँझो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । युवालाई आफ्नै देशको माटोमा पाखुरा बजार्न, उत्पादन गर्न र उद्यम गर्न प्रेरित गर्ने नीति अविलम्ब ल्याउनुपर्छ । देशमा उद्योग खोल्ने, कृषि उत्पादन बढाउने, पर्यटन विकास गर्ने, सूचना प्रविधिको विस्तार गर्ने र नयाँ रोजगारी सिर्जना गर्ने स्पष्ट राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ ।

युवामा आत्मनिर्भरता, स्वाभिमान, नैतिकता र देशभक्तिको भावना विकास गराउनु पनि राज्यको महत्वपूर्ण दायित्व हो । देशप्रेम केवल नारामा होइन, व्यवहारमा उतार्नु जरुरी छ । यसले मात्र युवाले आफ्नै देशमा काम गरी गौरवका साथ जीवनयापन गर्न उत्साह भर्नेछ, चेतना जागोस् जेनजी सरकार ।