तपाईंका खुशी र सफलता तपाईंभित्रै छन्

658
Shares

प्रायः मानिस स्कुल वा क्याम्पसको पढाइलाई पूरा गरेपछि जागिर खानका लागि स–सानो बजार वा शहरबाट ठूला–ठूला शहरतिर जाने गर्छन् । तथापि, कतै न कतै मानिस शहरको भीडमा हराउन थाल्छ । तब उसले स्वयंलाई एक्लो महसुस गर्न थाल्छ । उससँग हरेक प्रकारका चीज पनि हुन सक्ला– राम्रो जागिर, राम्रा साथीभाइ तर उसले परिवारभन्दा टाढा भएर बस्नुपर्छ । चाहेर पनि ऊ आफ्नो परिवारकहाँ जान पाइरहेको हुँदैन । उसले बिस्तारै–बिस्तारै एक्लोपनको महसुस गर्न थाल्छ, ‘कतै न कतै म हराइरहेको छु ।’ कतै न कतै ऊ भित्रबाट व्याकुल हुन्छ । यस्तो एक्लोपनसँग उसले कसरी लड्ने ?

हामी बालक हुँदा खेल्ने, दगुर्ने गर्छौं । त्यसपछि हाम्रो विद्यालय आउने–जाने क्रम शुरु हुन्छ । त्यहाँ हामीले साथी पनि बनाएका हुन्छौँ, पढ्छौँ, जिम्मेवारीलाई बोध गर्छौं । बिस्तारै–बिस्तारै हाम्रो पढाइ अभैm अघि बढ्दै जान्छ । हामी अन्य संस्कृतिका बारेमा पढ्छौँ । बिस्तारै–बिस्तारै गरेर हाम्रा महत्त्वाकाङ्क्षा, धारणा, विचार र इच्छाहरू पनि बढ्दै जान्छन् । स्कुल अनि विश्वविद्यालयको काम हो– बालबालिकाको दिमागलाई आकार प्रदान गर्नु । परिणामतः बिस्तारै–बिस्तारै गरेर हामीलाई यस्तो लाग्न थाल्छ– ‘म डाक्टर बन्नेछु । म इन्जिनियर बन्नेछु ।’

त्यसपश्चात् यिनै लक्ष्यलाई लिएर विश्वविद्यालयमा जान्छौँ । स्नातक÷स्नातकोत्तर हुन्छौँ अनि जागिर खान्छौँ । यदि यी सबै कुरालाई हेर्ने हो भने यो भनेको ‘रिभर्स इन्जिनियरिङ’ हो । यसको अर्थ के हो भने, तपाईंको एउटा लक्ष्य हुन्छ । अनि, तपाईं जे–जे गरिरहनुभएको छ त्यो सबै त्यही लक्ष्य परिपूर्तिका लागि नै गरिरहनुभएको हुन्छ । यी जुन लक्ष्यहरू छन् अनि यतिका धेरै काम त्यही लक्ष्यलाई पूरा गर्ने भनेरै गरिरहनुपरेको हुन्छ । यसमा तपाईं आफ्नो समय र शक्ति खर्च गरिरहनुभएको छ । यसका लागि तपाईंले आफ्ना आफन्तलाई भुल्नुपरिरहेको हुन्छ । त्यसपछि तपाईं त्यो लक्ष्यसम्म पुग्नुहुन्छ । तपाईंको दिमागमा ‘त्यो लक्ष्य पूरा गरेपछि त एकदमै खुशी हुनेछु, सबैथोक राम्रो हुनेछ, त्यसपछि कुनै चिन्ता गर्नुपर्ने हुँदैन’ भन्ने थियो । तथापि, त्यो लक्ष्यसम्म जो–जो पुगेका हुन्छन्, उनीहरूका भनाइअनुसार ती सबै समस्या त त्यसपश्चात् पनि कायमै रहन्छन् ।

यसर्थ यो जिन्दगी ‘रिभर्स इन्जिनियरिङ’ का लागि हो या कुनै अन्य कुराका लागि पनि हो ! ‘तपाईंले आफ्नो जीवनमा खुशी हासिल गर्नुभयो । आफ्नो जीवनमा आपूmले आपूmलाई चिन्नुभयो । केही कार्य गरेपछि तपाईंका सपना टुटेर सपनाभन्दा पनि ठूलो उपलब्धि तपाईंले हासिल गर्नुभयो ।’ यदि यी कुराहरू भएमा तपाईंको जीवनमा के सम्भावना हुन्छ भने– तपाईं एउटा चीजमात्रै होइन, धेरै कुरा हासिल गर्न सक्नुहुन्छ । तथापि, यसका लागि तपाईंले हृदयदेखि नै काम गर्नुपर्नेछ । जब तपाईं हृदयभित्रदेखि काम गर्नुहुन्छ, त्यो काम काम मात्रै हुँदैन । त्यसबाट तपाईंले मजा लिनुहुनेछ । त्यसबाट तपाईंले पूर्णरूपले फाइदा लिनुहुनेछ ।

आफ्नो परिवारकै साथमा रहेका मानिसहरूले पनि एक्लोपनको महसुस गरिरहेका हुन्छन् । कोही गाउँमा हुन्छन् । उनीहरू पढालेखा पनि हुन्छन् । उनीहरूलाई त्यहाँ कुनै पनि सम्भावना नभएको महसुस भइरहन्छ तथापि उनीहरू अल्झिरहेका हुन्छन् । आमाबुबा, सबै परिवार साथमा नै हुन्छन् तर ध्यान अन्तै हुन्छ– ‘यदि म पनि त्यहाँ हुँदो हुँ !’ अर्को त्यस्ता मानिस जसले परिवार छोडेर गएका हुन्छन्, उनीहरूले सोच्छन्, ‘यदि म घर–परिवारका साथमा हुँदो हुँ त !’ ‘यदि’ त दुवैले भनिरहेकै हुन्छन् ।

तपाईं कतै गइरहनुभएको छ । तपाईंले पसलमा देख्नुहुन्छ– एकथान सुट राखिएको छ । निकै राम्रो सुट छ । तपाईंले किन्नुभयो । यसको अर्थ तपाईं अब अर्को सुट नै किन्नुहुन्न भन्ने हुँदैन । दुई महिनापछि, तीन महिनापछि हुन सक्ला– तपाईंलाई त्यो सुट ठीक नहोला । त्यसपछि तपाईंले अर्को हेरेर किन्नुहुन्छ । पहिलो सुट किन किन्नुभयो ! किनभने, त्यो सुट तपाईंलाई सुहाउँदिलो लागिरहेको थियो । तर, तपाईंका परिस्थितिहरू बदलिएपछि अरू कुराहरू पनि बदलिन्छन् । यी परिस्थितिहरू त बदलिरहन्छन् ।

समुद्रको एउटा छाल एउटा स्थानमा आयो । अनि, अर्को छाल पहिलाकै ठाउँमा आउँछ भनेर हेरिरहनुहुन्छ भने त्यो त गलत हो । त्यो छाल त्यहाँ नआउन पनि सक्छ । त्यो छाल कतै अन्तै आउला । यसर्थ समुद्रको छाललाई गनेर के फाइदा हुन्छ र ! यो भवसागर पनि एउटा समुद्रजस्तैै हो । यसमा पनि छाल आइरहन्छ अनि गइरहन्छ । यो त यसको प्रकृति नै हो । त्यो छाललाई तपाईं किन गनिरहनुभएको छ ! यदि यो भवसागरका लागि प्रबन्ध मिलाउनु छ भने केही यस्तो प्रभावकारी प्रबन्ध गर्नुपर्छ । किनभने, जुन डुङ्गामा तपाईं बस्नुभएको छ त्यो डुङ्गा यो छालका कारणले नडुबोस् ।

अनि, यो जुन हामीले आपूmले आपूmलाई एक्लोपनको महसुस गरिरहेका हुन्छौँ भने त्यो त्यही डुब्ने कुरा नै हो ।यो सबै मनको खेल हो ! यो मनको छाल त आइरहन्छ । कसैलाई के दुःख हुन्छ, कसैलाई के दुःख हुन्छ । दुःखले त सबैलाई हैरान पारिरहेको हुन्छ नै । आपूmभित्र स्थित चीजलाई चिन्ने व्यक्ति नै सुखी हो, जो उसैभित्र विराजमान हुन्छन्, जो उसैभित्र बसेका छन् ।

यसर्थ तपाईंले एक्लोपनको महसुस गर्नुपर्ने आवश्यकता नै छैन । तपाईं जहाँसुकै हुनुहोस्, तपाईं आपूmसँगै हुनुहुन्छ । तपाईंका मित्र तपाईंभित्रै छन् । तपाईंका आफ्ना प्रकाश, प्रेम, खुशी र सफलता तपाईंभित्रै छन् ! यसकारण एकदमै अत्यावश्यक कुरा के हो भने– ‘तपाईं आपूmले आपूmलाई चिन्नुहोस् अनि आफ्नो जीवनको सम्भावनालाई पूरा गर्नुहोस् ।’ यसको अभावमा त तपाईंलाई एक्लोपन महसुस भइरहनेछ ।
आज पृथ्वीमा अर्बौं मानिस छन् ।

शान्तिका बारेमा हरेक मानिसका आ–आफ्नै परिभाषाहरू छन् । कसैले शान्ति प्राप्त गर्नका लागि राम्रो जागिरको चाहना राख्छ । कोही यस संसारमा सबैभन्दा धनी मानिस बन्न चाहन्छ । हरेक मानिसले आ–आफ्नो चाहनालाई पूरा गरेर शान्ति प्राप्त गर्न चाहन्छ । मानिस भन्छ, ‘मलाई शान्ति चाहियो ।’ संसार भन्छ, ‘तपाईंको परिवार राम्रो छ । तपाईंकोे जागिर राम्रो छ । तपाईंको घर राम्रो छ । तपाईंका छोराछोरीहरू असल छन् । तपाईंलाई अरू के चाहियो ?’ के साँच्चै नै वास्तविक शान्ति यी सबै चीजहरु प्राप्त गरेर सम्भव होला त ?

आजको युगलाई विज्ञानको युग भनिन्छ । यस संसारमा मानिसले आफ्नो सुख–सुविधाका लागि के–के मात्रै गरेको छैन र ! तैपनि आज यो संसारको अवस्था राम्रो छैन । बुद्धिमान् मानिसले त यस्ता–यस्ता यन्त्रको आविष्कार गरिसके, जुन पृथ्वीको आकर्षण शक्तिलाई पनि छोडेर अन्तरिक्षमा जान सक्छन् र विभिन्न किसिमका कार्यहरू गर्न सक्छन् । असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव तुल्याइरहेका हुन्छन् । क्यामेरा, टेलिफोन, नेभिगेसन (जहाजको दिसा नियन्त्रण गर्ने प्रणाली) लगायत अरू थुपै्र आविष्कार गरेका छन् ।

एक ठाउँबाट अर्को ठाउँसम्म जानलाई मानिसले आफ्ना लागि कस्ता–कस्ता सुविधाहरूको विकास गरेको छ । पृथ्वीमा बसी–बसी हज्जारौँ–करोडौँ माइल टाढा हेरी ‘आकाशको तारा कति ठूलो छ’ भन्न सक्छ । जसरी मानिसले ती सबै सुविधा आफ्ना निम्ति सम्भव बनाएको छ, त्यसै गरी यो संसारमा शान्तिलाई सम्भव बनाउनका लागि पनि मानिसले नै पाइला चाल्नुपर्छ । यस संसारमा सुख–दुख त भइरहन्छ । कसैलाई दुःख हुन्छ त कतिलाई त्यही दुःखका कारणले खुशी प्राप्त हुन्छ । तर, मानिस यो कुरालाई बुझ्न चाहँदैन । शान्तिसँग रहेर यो जीवनलाई सफल बनाउने जुन मूल लक्ष्य छ, त्यही कुरालाई बिर्सन्छ ।

एकखालको शान्ति त त्यो पनि हो, जुन परिस्थितिमा निर्भर रहन्छ । सबै कुरा ठीक भएपछि त्यसको अनुभव हुन्छ । तर, अर्को शान्ति त्यो हो, जसमा जुनसुकै परिस्थिति होओस् मानिसले आपूmभित्र त्यो शान्तिलाई महसुस गर्न सक्छ । मानिसले संसारमा शान्ति ल्याउनका लागि सम्भव हुन सक्ने हरेक प्रयास गरिरहेको छ, जुन उसले गर्न सक्छ । तर उसले ‘त्यो शान्ति’ लाई आपूmभन्दा टाढा छैन भन्ने कुराका बारेमा जान्ने कोशिशै गर्दैन । त्यो त ऊभित्रै छ । त्यही शान्ति पाउन मानिसले विभिन्न किसिमका औजार बनाइरहेको छ । त्यसबाट शान्ति त होइन, क्रान्ति भने अवश्य भइरहेको छ । किनभने, शान्ति त अनुभव गर्ने कुरा हो । खुशीको खबर के छ भने, जुन शान्तिको खोजी हामीलाई छ, त्यो हामीबाट टाढा छैन । त्यो हामीभित्रै छ । मानिसले भित्रको शान्तिलाई प्राप्त नगरेसम्म चाहे उसले जतिसुकै कोशिश किन नगरोस्, ऊ व्याकुल रहनेछ । हरेक व्यक्तिलाई शान्तिको अनुभव भएपछि मात्रै यो पृथ्वीमा शान्ति सम्भव हुन्छ ।

यदि एउटा स्टेडियमलाई प्रकाशै प्रकाशले उज्यालो बनाउनु छ भने त्यसमा जडान भएका हरेक बल्बलाई बाल्नुपर्छ । यो पृथ्वी पनि एउटा स्टेडियमजस्तै हो अनि हरेक मानिस एउटा बल्ब हो । स्टेडियमको सबैतिर उज्यालो बनाउनका लागि प्रत्येक बल्ब बल्नु आवश्यक भएजस्तै सबै मानिसमा त्यो सम्भावना छ । उसले आफ्नो जीवनमा शान्तिलाई अनुभव गर्न सक्छ । यसबाट पृथ्वीभरि नै शान्ति सम्भव हुन सक्छ । प्रत्येक मानिसलाई शान्तिको आवश्यकता छ । हरेक व्यक्तिको हृदयभित्र शान्तिको सम्भावना छ ।

हृदयमा शान्तिको अनुभूति भएपछि मात्रै जीवन पनि सफल हुनेछ । नत्र यस संसारमा आयौँ अनि एकदिन यहाँबाट जानुपर्छ । मानिसहरू भन्छन्, ‘खाली हात आएका थियौँ र खाली हात नै जानुपर्नेछ ।’ तपाईं यो संसारमा अवश्य पनि खाली हात आउनुभएको थियो तर खाली हात नै जान आवश्यक छैन । यदि कुनै लिएर जान सकिने चीज छ भने एउटा मात्रै चीज छ र त्यो हो– शान्ति ।

यदि हामी संसारमा शान्ति होओस् भन्ने चाहन्छौँ भने पहिला हामीले आफ्नै सानो संसारमा शान्तिलाई स्थापना गर्नुपर्छ । यदि कतै अशान्ति भइरहेको छ भने त्यसको कारण अरू कोही होइन, मानिस आफैँ हो । वास्तविक शान्ति त्यो हो, जसलाई मानिसले आपूmभित्र अनुभव गर्न सक्छ । यदि मानिसभित्र शान्ति छैन भने बाहिरको शान्ति असम्भव छ । मानिसलाई आफूभित्रै शान्ति छ भन्ने कुरा महसुस हुनुपर्छ, ‘म पनि यो शान्तिको हिस्सेदार हँु र यो ममाथि निर्भर हुन्छ । यदि मैले प्रयास गरेँ भनेँ साँच्चै नै शान्ति सम्भव छ ।’ यसका लागि प्रत्येक मानिस सहभागी भएर ‘एक पाइला शान्तितर्फ’ चाल्नुपर्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)