नेपाल-भारत सैन्य सम्बन्ध: विश्वासको निरन्तरता र भविष्यको साझेदारी

94
Shares

नेपाल र भारतबिचको सम्बन्ध दक्षिण एसियामै विशिष्ट मानिन्छ। भौगोलिक निकटता, खुला सीमा, ऐतिहासिक अन्तरसम्बन्ध, सांस्कृतिक निकटता, धार्मिक आस्था, आर्थिक अन्तरनिर्भरता र जनस्तरको आत्मीयताले यो सम्बन्धलाई अन्य द्विपक्षीय सम्बन्धभन्दा फरक बनाएको छ। सात दशकभन्दा बढीको आधुनिक कूटनीतिक यात्रामा दुवै देशबिच कतिपय विषयमा मतभेद र विमति देखिएका छन्। सीमा विवाद, व्यापारिक अवरोध, राजनीतिक दृष्टिकोण तथा केही राष्ट्रिय संवेदनशील विषयमा समय-समयमा असहमति उत्पन्न भएका उदाहरण पनि छन्। तर, ती मतभेदले समग्र सम्बन्धलाई विच्छेद गर्न सकेका छैनन्। बरु, कठिन परिस्थितिमा पनि संवाद, सहकार्य र आपसी सम्मानका माध्यमबाट सम्बन्धलाई अघि बढाउने परिपक्वता दुवै मुलुकले देखाएका छन्।

नेपाल-भारत सम्बन्धको यही स्थायित्वलाई सबभन्दा बलियो आधार प्रदान गर्ने पक्षमध्ये एक हो—नेपाल सेना र भारतीय सेनाबिचको ऐतिहासिक तथा व्यावसायिक सम्बन्ध। राजनीतिक परिस्थितिहरू परिवर्तन हुँदै जाँदा पनि सैनिक सम्बन्ध निरन्तर रहनु यसको संस्थागत परिपक्वताको प्रमाण हो। यही कारणले धेरै विश्लेषकहरूले नेपाल-भारत सम्बन्धको स्थायित्वमा सैनिक कूटनीतिको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण मान्ने गरेका छन्।

नेपाल र भारतबिचको सैन्य सम्बन्ध केवल औपचारिक भ्रमण वा तालिम आदानप्रदानमा सीमित छैन। दशकौँदेखि सैनिक शिक्षा, संयुक्त अभ्यास, विपद् व्यवस्थापन, मानवीय उद्धार, सीमा क्षेत्रमा समन्वय, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनसम्बन्धी अनुभव आदानप्रदान तथा उच्चस्तरीय सैनिक संवादका माध्यमबाट यो सम्बन्ध निरन्तर विस्तार हुँदै आएको छ। भारतीय सैनिक शिक्षण संस्थाहरूमा नेपाली अधिकृतहरूले प्राप्त गरेको उच्चस्तरीय शिक्षा तथा तालिमले नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ। त्यसै गरी नेपालले पनि आफ्नो जङ्गल तथा पहाडी युद्धकला, शान्ति स्थापना मिसनको अनुभव तथा विपद् व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको अनुभव आदानप्रदान गर्नुका साथै मध्यम तहका अधिकृतहरूको लागि शिवपुरीमा सञ्चालन हुने कमाण्ड तथा स्टाफ तालिममा सहभागी गराउँदै आएको छ। यसका साथै निकट भविष्यमा सञ्चालन हुने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा समेत सहभागी गराउन सकिन्छ ।

आजको विश्वमा सैनिक कूटनीतिको महत्त्व झन् बढ्दै गएको छ। परम्परागत युद्धभन्दा बाहिर साइबर सुरक्षा, अन्तर देशीय अपराध, आतङ्कवाद, जलवायुजन्य विपद्, मानवीय सङ्कट तथा सूचना सुरक्षाजस्ता चुनौतीहरू साझा भएका छन्। यस्ता चुनौतीको सामना कुनै एक देशले एक्लै गर्न सक्दैन। त्यसैले मित्रराष्ट्रहरूबिचको सैनिक सहकार्य आवश्यक बनेको छ। नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीति, सार्वभौमिकता तथा राष्ट्रिय हितलाई केन्द्रमा राख्दै विभिन्न मित्रराष्ट्रसँग सैनिक सम्बन्ध विस्तार गर्दै आएको छ।विगतको नाकाबन्दीको समयमा सैनिक कूटनीतिले सकारात्मक भूमिका खेलेको उदाहरणले नेपाल-भारतसँगको सम्बन्ध आपसी हितका लागि फलदायी हुने देखिन्छ।

नेपाल-भारत सैन्य सम्बन्धको सबैभन्दा विशिष्ट पक्ष भनेको दुवै देशका सेनाध्यक्षलाई एक अर्काको सेनामा मानार्थ महारथी (Honorary General) को दर्जा प्रदान गर्ने परम्परा हो। सन् १९५० को दशकदेखि निरन्तर कायम रहेको यो अभ्यास केवल औपचारिक सम्मान होइन; यो दुई सेनाबिचको विश्वास, समान सम्मान र संस्थागत मित्रताको प्रतीक हो। विश्वका सीमित मुलुकहरूबिच मात्र पाइने यस्तो परम्पराले नेपाल र भारतका सेनाबिचको सम्बन्धलाई विशिष्ट पहिचान दिएको छ।
मानार्थ महारथीको सम्मानले सैनिक नेतृत्वबिच विश्वासको वातावरण निर्माण गर्छ, प्रत्यक्ष संवादलाई सहज बनाउँछ, व्यावसायिक अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्छ र भविष्यका सहकार्यका क्षेत्रहरू विस्तार गर्न सहयोग पुर्‍याउँछ। सैनिक कूटनीतिमा यस्ता प्रतीकात्मक सम्मानको आफ्नै रणनीतिक महत्त्व हुन्छ, किनकि यसले सम्बन्धलाई औपचारिक सीमाभन्दा माथि उठाएर संस्थागत विश्वासको तहमा पुर्‍याउँछ।

नेपालले भारतसँगको सैन्य सम्बन्धबाट विभिन्न क्षेत्रमा प्रत्यक्ष लाभ प्राप्त गरेको छ। नेपाली सैनिक अधिकृतहरूको उच्चस्तरीय अध्ययन र तालिम, संयुक्त अभ्यासमार्फत क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनमा समन्वय, सैन्य चिकित्सा तथा प्राविधिक विषय लगायत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका अनुभवको आदानप्रदान त्यसका केही उदाहरण हुन्। भूकम्प, बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम उच्च रहेको नेपालका लागि विपद् प्रतिकार्यसम्बन्धी सैन्य सहकार्यको महत्व अझ बढी छ।

अवश्य पनि, नेपाल-भारत सम्बन्ध सधैँ विवादरहित भने छैन। सीमा सम्बन्धी विषय, व्यापार तथा कूटनीतिक दृष्टिकोणमा समय-समयमा मतभेद देखिएका छन्। यस्ता विषयलाई दुवै देशले संवेदनशीलता, संयम र संवादका माध्यमबाट समाधान खोज्नु आवश्यक छ। मित्रताले मतभेदलाई अस्वीकार गर्दैन; बरु मतभेदका बीच पनि विश्वास कायम राख्ने क्षमता नै परिपक्व सम्बन्धको परिचायक हो। यही दृष्टिकोणले नेपाल-भारत सम्बन्धलाई हेर्नु उपयुक्त हुन्छ।

यही सन्दर्भमा अगष्टको १६ देखि १९ सम्म तय भएको भारतीय सेनाध्यक्ष धीरज सेठको नेपाल भ्रमण तथा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित हुने कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ। यस्तो भ्रमणले केवल परम्परागत सम्मानको निरन्तरता मात्र दिँदैन, बरु दुई सेनाबीचको व्यावसायिक सम्बन्धलाई अझ गहिरो बनाउने, उच्चस्तरीय रणनीतिक संवादलाई निरन्तरता दिने तथा भविष्यका सहकार्यका नयाँ आयाम पहिचान गर्ने अवसर पनि प्रदान गर्नेछ। वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा परिवेशमा यस्ता भ्रमणहरू विश्वास निर्माणका प्रभावकारी माध्यम हुन्।

नेपालले आफ्नो राष्ट्रिय हित, सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई केन्द्रमा राख्दै सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ। त्यसैअनुरूप भारतसँगको सैन्य सम्बन्धलाई पनि राष्ट्रिय हित, पारस्परिक सम्मान, समानता र व्यावसायिक सहकार्यका आधारमा निरन्तर सुदृढ बनाउनु आवश्यक छ। सैनिक सम्बन्ध राजनीतिक उतारचढावबाट यथासम्भव अलग राखी संस्थागत रूपमा अघि बढाउन सकियो भने त्यसले दुवै देशलाई मात्र होइन, समग्र क्षेत्रीय स्थायित्वलाई समेत सकारात्मक योगदान पुर्‍याउनेछ।

नेपाल र भारतबीच केही विषयमा विमति छन्, भविष्यमा पनि रहन सक्छन्। तर ती विमतिले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक, जनस्तरीय र सैन्य सम्बन्धको विशिष्टतालाई ओझेलमा पार्न सक्दैनन्। बरु यस्ता सम्बन्धलाई विश्वास, संवाद र परस्पर सम्मानका आधारमा थप परिपक्व बनाउँदै लैजानु दुवै मुलुकको साझा हितमा छ। भारतीय सेनाध्यक्षको आसन्न नेपाल भ्रमण तथा मानार्थ महारथीको सम्मान यही दीर्घकालीन मित्रता, संस्थागत विश्वास र रणनीतिक सहकार्यको निरन्तरताको प्रतीक बन्न सकोस्—यही अपेक्षा गर्नु उपयुक्त हुन्छ।