मुगु । कर्णाली प्रदेशअन्तर्गत मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा रहेको प्रशिद्ध छायानाथ तीर्थस्थल हिन्दू धर्मावलम्बीहरुको लागि महत्वपूर्ण तीर्थस्थल हो । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर डुल्दै जाँदा सतीदेवीको अन्तिम शेष पतनका क्रममा भएको स्थान नै छायानाथ धाम हुन पुगेकाले हिन्दूहरुको पवित्र धाम मानिदै आएको छ । यसरी सतिको मृत देह गलेर पतन हुने क्रममा छायाक्षेत्र नामक स्थानमा बाँकी सबै अङ्गहरु पतन भए भन्ने कुरा पनि स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।
भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँडेका बेलामा सतीदेवीका अङ्गहरु संसारका विभिन्न ठाउँमा पतन भएका थिए अथवा खसेका थिए । जुन ठाउँमा सतिका अङ्ग पतन भए, ती ठाउँमा एक–एकवटा देवी, योगिनी र महादेव उत्पन्न भएर शिवशक्ति स्वरुपले रहेका छन् । सतीदेवीका अङ्गहरु पतन भएर सात करोड पचास लाख शक्तिपीठहरु उत्पन्न भएका छन् । स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छायाक्षेत्र यही छायानाथ मन्दिर रहेको स्थान हो भन्ने भनाइ रहेको छ ।
सतीदेवी भगवान् शिवकी पत्नी हुन् । सत्ययुगमा दक्ष प्रजापतिकी छोरी सतीदेवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन । दक्ष प्रजापतिकी पुत्री भएकीले उनलाई दक्षायणी भनेर पनि चिनिन्छ । पवित्र हिन्दू धर्म ग्रन्थ स्वस्थानी व्रतकथालगायत सबै ग्रन्थहरुमा सतीदेवीको चरित्रका बारेमा उल्लेख गरिएको छ । पौराणिक कथाहरुमा सतीलाई शिवकी पूर्वपत्नी भनिन्छ । दक्ष प्रजापतिकी कन्याको नाम दक्षायणी दिइन्छ । तर सती शब्द शक्ति नामको अपभ्रंश रुप हो । शक्तिको अर्को नाम नै सती हो । प्रत्येक वर्ष जनै पूर्णिमाका बेला छायानाथमा पाँच दिनसम्म मेला लाग्ने गर्दछ ।
जनै पूर्णिमाको बेला ठाकुरज्यूको गाथ पूजारीका साथ बाजागाजा र सुरक्षाकर्मीहरुसहित छायानाथ मन्दिरमा लगेर लिएपछि छायानाथको तीर्थयात्रा शुरु हुन्छ । ठाकुरज्यूको गाथ जनै पूर्णिमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनका लागि पश्चिम नेपालका साबिक सेती, महाकाली, राप्ती, कर्णाली अञ्चलका १५ जिल्लाबाट महिला, पुरुष, धामीझाँकीसहित तीर्थालुहरुको लर्को लाग्ने गर्दछ । त्यहाँका स्थानीयवासी तथा मन्दिरका पूजारी यस मन्दिरलाई बद्रीनाथ र केदारनाथजस्तै एक पवित्र धाम अथवा शक्तिपीठ हो भन्ने गर्दछन् ।
यस मन्दिरभन्दा माथि शिव, पार्वती र विष्णुका मूर्तिहरु अंकित गुफाहरु रहेका छन् । सत्ययुगमा भगवान् शिवले सतीदेवीको मृत शरीर पीठमा बोकेर हिँडेका बेला मृत शरीर गलेर जहाँ–जहाँ सतिका अङ्गहरु पतन भए त्यहाँ–त्यहाँ शक्तिपीठहरु बन्दै गएको कथा स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।
हिन्दू धर्मावलम्बीहरुले पनि जनै पूर्णिमाका बेला छायानाथमा पुगेर शिव महादेवको रुपमा मानी पूजाजाठ गर्ने, आ–आफ्ना कुलदेवताका मूर्तिहरु नुहाएर शुद्ध पार्ने कामसमेत गर्दछन् । छायानाथको पानीलाई शुद्ध मानेर ल्याई फलफूल, अन्नबालीमा छर्ने र छायानाथ पुग्न नसक्नेहरुलाई जल दिने गर्दछन् ।
देवीदेवताका मूर्तिहरु छायानाथबाट शुद्ध पारेर ल्याएपछि जनै पूर्णिमाको बिहान आफ्नो ठाउँमा पुगेर देवीदेवताको पूजापाठ र धामी नाच्ने परम्परा छ । छायानाथका बहुमूल्य मूर्तिहरु भौगोलिक विकटता र अत्यधिक चिसोका कारण छायानाथमा राख्न र त्यहाँ मानिस बस्न नसकिने भएकाले सदरमुकाम गमगढीस्थित चैनमा रहेको मन्दिरमा राख्ने गरिएको छ । हरेक वर्षको जनै पूर्णिका बेला चैन गाउँमा रहेको छायानाथ मन्दिरबाट सुरक्षासहित ती मूर्तिहरु छायानाथतर्फ लाने गरिन्छ । मन्दिर पश्चिमतर्फ रहेको झ्यालबाट हमाल थर वा चौलागाईं थरका पूजारीबाट विशेष पूजापाठ गरी मूर्ति निकाल्ने गरिन्छ ।
बौद्ध धर्मावलम्बीहरुले छायानाथ धाम आसपास रहेका हिमालका तीन चुचुरालाई अवलोकेश्वर, मञ्जुश्री र वज्रवाणीको स्वरुप मान्छन् भने हिन्दूरुले ती तीन चुचुरामा दायाँ विष्णु, बीचमा शिव र बायाँ बुद्ध भगवान् रहेको विश्वास गर्छन् । छायानाथ दर्शन गर्दा मनले सोचेको कुरा पूरा हुने र पुण्य कमाउने भन्दै हजारौं तीर्थयात्रु यहाँ पुग्ने गर्छन् ।











प्रतिक्रिया