राजनीतिमा स्पष्ट दृष्टिकोण भएका व्यक्तिले कुनै पनि प्रकारका राजनीतिक अखेटाहरू सिर्जना गर्न खोज्दैनन् र अखेटा सिर्जना नभइदिए हुन्थ्यो भन्ने सोचाइ बनाउँछन् । त्यस्ता मान्छेहरू आफ्नो राजनीतिक यात्राको क्रममा जतिसुकै प्रकारका अवरोध आएर बाटो अवरोध गरे पनि विभिन्न उपाय लगाएर ती अखेटा वा अवरोधबाट उम्कन सफल हुन्छन् । तर स्पष्ट राजनीतिक दृष्टिकोण नभएका र होहोरेका भरमा राजनीतिमा लागेका मानिसहरूले विभिन्न राजनीतिक अखेटा सिर्जना गरेर अनन्त कालसम्म जनतालाई तिनै अखेटाहरूमा बिसाउँदै र सान्तवनाका अमृत वचन सुनाउँदै आफूहरूलाई केन्द्रविन्दुमा अड्याएर राख्न खोजेका हुन्छन् ।
यी अखेटालाई राजनीतिको भाषामा राजनीतिक भुलभुलैया भनिन्छ । राजनीतिक भुलभुलैया बनाउन सक्नु भनेको राजनीतिको नाममा कालो खेल खेल्नु वा कपटी खेल खेल्नुजस्तै हो । कानुनी भाषामा भन्ने हो भने यो एउटा आपराधिक मनोवृत्तिबाट उत्पन्न भएको पाप कर्म हो । पुरानो इतिहासको पाना पल्टाउनुको साटो त्यही १०४ बर्से राणा शासनले धर्मको, राजनीतिको भुलभुलैयामा राखेर १०४ वर्षसम्म नेपाली जनताको उन्नतिको पाइला अगाडि बढाउने बाटोमा अवरोध सिर्जना गरेर रह्यो ।
बल्लतल्ल १०४ वर्षपछि ती सारा घुमाउरा अखेटा पार गरेर थोरै भए पनि राहतको महसुस गरिरहेका बेला नेपाली काङ्ग्रेस पार्टीले बीपी कोइरालाको समाजवादको भुलभुलैयाले भरिएको अखेटामा लगेर आश्वासनका ललिपप खुवाउँदै पदका आपसमा काटमार गर्न थाल्यो । अन्ततः राणा शासन धराशायी भएको एक दशक समय पनि बित्न नपाउँदै हामी सब पञ्च नेपाली भन्ने गीतका ललिपप खुवाएर जनतालाई मक्ख बनाउन खोजियो ।
राणा शासनमा राणाको गुणगान गाउनुपर्ने थियो भने पञ्चायती शासनकालमा राजाको गुणगान गाउनुपर्ने अवस्था आएको थियो । आम नेपाली जनताको राणा शासन धराशायी भएपछिको राजनीतिक अपेक्षा ती दुवै अनपेक्षित शासनकालभन्दा बिल्कुल फरक थिए होलान् नि ! तर इच्छा नभएरै पनि तिनै राजनीतिक भुलभुलैयाभित्र घुमिरहनुपरेको वा दिमाग घुमाइरहन बाध्य हुनुपरेको थियो । बीपी आफैँमा र आफ्नै कारणले राजनीतिक असफलता भोगेका वा बेहोरेका व्यक्ति थिए भने उनले चाहेको समाजवादी व्यवस्था कसरी लागू हुन र सफल बन्न सक्छ ? भन्ने कुरा आम जनताको दिमागले सोचे पनि सोही असफल राजनीतिक व्यवस्था नै सफल हुन्छ भन्न बाध्य बन्दै भोग्नुपरेको थियो । भोग्ने मात्र होइन कि त्यसैको गुणगान गाउनुपरेको थियो ।
यता कम्युनिस्टहरूको विषयमा भन्दा कम्युनिस्टहरूका आदर्श गुरु भनेका कार्लमाक्र्स, एन्गेल्स आदि हुन् । कार्लमाक्र्सले लेखेको पूँजी नामको दर्शनशास्त्र कम्युनिस्टहरूको आदर्श मार्गदर्शन रह्यो । जसलाई गुरु थापेर कम्युनिस्टहरू पूँजिवाद, समाजवाद, हुँदै साम्यवादको खुड्किलोसम्मको राजनीतिक यात्राको गोरेटो तय गर्ने बाटोमा लागेका थिए । तर कार्लमाक्र्सले वर्षौँ अध्ययन गरी खारिएर लेखेको पूँजी दर्शनशास्त्रलाई गाउँमा केही काम नपाएर हात्ती चप्पल पड्काउँदै र चप्पलको लोतो चुँडिए सलाई बालेर टाल्दै र लाउँदै काठमाडौँ झरेको अनि नेताको गुलामी गर्न सिपालु भएको केटो, केटी वा व्यक्तिले हाम्रोजस्तो विविध धर्म, संस्कार, संस्कृति भएको देशमा कसरी लागू गर्न सक्थ्यो होला र ?
केवल नेपाली जनतालाई गुमराहमा वा भुलभुलैयमा रिँगाइराख्ने एउटा दाउपेचको ऐतिहासिक कथा मात्र थियो त्यो । पुराना राजनीतिक कर्मीले नै यसरी राजनीतिका अनेक भुलभुलैयाका अखेटा बनाइदिएपछि नयाँहरूले पनि जनतालाई तिनै भुलभुलैयाका अखेटामा पर्खाएर राजनीतिक आश्वासनका ललिपप खुवाउन अनि आफू कुनचाहिँ विदेशीको दलाल बन्नुपर्ने हो बनेर जनतालाई खुट्किलामा रिँगाउँदै गरेको कुरा बिर्सिए । यता कहिलेकहीँ आफ्नो प्रभाव बढाउँदै गर्नुपर्ने बेलामा आफूहरू दलाल नोकरशाही प्रथाको विरुद्धमा रहेको भाषण पनि ओकल्दै गरे । यति गरेपछि आफू सधैँ केन्द्र वा मध्यविन्दुमा रहने नै भए । त्यति मात्रै हो र ? संसारका कम्युनिस्ट जनता एक हौऔँ भनेर संसारमै परिवर्तनको लहर चलाउने हो कि जस्तो शैलीमा भाषण छाँटेर प्रभाव जमाउन सफल भए । उनको भित्री आत्माले भन्दै थियो– यो समाजवाद, साम्यवाद भनेको के हो ? मनैभित्रबाट आत्मसात् नभएको विषय केवल रटेर, भाषणमा उतारेर मात्रै केही पनि गर्न सकिनेवाला थिएन अवस्था ।
आम नेपाली जनताले राजनीतिका यी घुमाउरा र फेद न टुप्पोसँग जेलिएका खोक्रा अनि अर्थहीन शब्दलाई धेरै समय हो कि हो कि को भावमा पत्याउन बाध्य हुनुपरेको थियो । जुन पत्याइका कारण आफन्तबीचको नाता नटुटे पनि निकै तिक्तता पैदा भएको थियो । आज पनि सत्ताच्यूत भएर रहलिँदै गरेका राजनीतिक दलहरूले विभिन्न नकारात्मक खेल खेल्न बाँकी राख्दैनन् । हाल समस्याको रुपमा उभिएको भनिएको सुनसरीको घटनाले केही उग्र रुप लेला कि भन्दै गर्दा सरकार र विद्रोही पक्षका बीचमा सम्झौता भइसकेको अनि वातावरण पनि शान्त भएको अवस्था छ । हो, हामी नेपालीका बीचमा वर्षौंदेखिको एउटा सद्भावको भावना विकसित भएको थियो र आज पनि उत्तिकै रुपमा छ । चाहे जुन विषयका बारेमा विरोध हुन्छ भने पनि, विवाद हुन्छ भने पनि, त्यसलाई अलि विस्तृत मानसले सोचेर समाधानको बाटोमा जान सक्नु बुद्धिमानी हुन्छ ।
हामी नेपालीलाई कुनै राजनीतिक दलको विभिन्न झमेलामा अल्झाउने खालको भुलभुलैयाको गुजुल्टो चाहिएको हुँदै होइन । हामीलाई चाहिएको कुरा त संसारका विकसित देशको तुलनामा हाम्रो देश पनि आफैँले हरेक क्षेत्रको उन्नति गरेर आफ्नै पैतालाको आडमा उभिन सक्ने होओस् । हामीकहाँ विकासका लागि पूर्वाधार तयार गर्न चाहिने अपार साधन र स्रोत छन् । ती साधन र स्रोतको उपयुक्त रीतले प्रयोग गर्न सक्ने हो भने अर्काको नक्कली नागरिकताको प्रमाणपत्र भिराएर मान्छे बेच्नुपर्ने छैन । सरकारी जमिन पहुँचवालाको पहुँच लगाएर व्यक्तिको नाममा गराउनुपरेको छैन । दुनियाँ जनतालाई लुटेर गोदाममा पैसा र सुन थुपार्नुपरेको छैन । हामी नेपाली खान नपाएर एकजना पनि भोकले मर्नुपर्ने अवस्था नआओस् । सामान्य रोग लाग्दा बेलैमा उपचार नपाएर अकालमा मर्नुपर्ने दिन नआओस् । विदेशीले नदिँदाको अवस्था हाम्रो चुल्हो बाल्न नै रोकिने अवस्था नआओस् ।
विभिन्न जात र धर्मका नेपालीबीचमा एक–अर्काप्रतिको सद्भाव कायम राख्दै शान्तिपूर्ण अवस्थाले रमाएका बेला कुनै पनि राजनीतिक दलले उक्त सद्भावमा खलल पुग्ने काम नगरुन् । यदि कुनै राजनीतिक दलले त्यस्तो हर्कत गर्छन् र विगतमा एमाले, काङ्गे्रसमा विभाजन भएर बाउ–छोराबीचको बोलचाल बन्द गराउने हर्कत भएमा त्यस्ता राजनीतिक दललाई कार्यवाही गर्ने हो भने आउँदा दिनदेखि अवश्य पनि त्यस्ता हर्कत हुनेछैनन् । नेपाली जनताले कुनै पनि राजनीतिक गुजुल्टोभित्र बेरिएर निस्सासिनुपर्ने र आफैँले आफैँलाई धिक्कानुपर्ने अवस्था सिर्जना गराउने अनि त्यसबाट एक–आपसमा मनमुटाव गराएर भिडाउने अनि आफूले फाइदा लुट्ने काम विगतदेखि नै भइरहेको छ । कहिले मधेसी र पहाडे भनेर भिडाउने त कहिले हिन्दू र मुस्लिम भनेर भिडाउने गरिएको पाइन्छ ।
विगतका ती तिता दिनलाई सम्झेर हामी कसैले पनि कुनै माध्यमलाई लिएर हङ्गामा मच्चाउनुहुँदैन । किनभने हामीले यतिका वर्षसम्म विभिन्न राजनीतिका अनेक रुप देखिसकेका छौँ । जनतालाई विभिन्न बहानामा झुक्याएर भिडाउने साँचो राजनीति होइन । त्यसैले यो खराब राजनीति गर्ने जिम्मा राजनीति गर्ने व्यक्तिलाई नै सुम्पौँ । हामी कोही पनि फोहोरी र असफल राजनीतिको घनचक्करमा नफसौँ । यो फोहोर राजनीतिको घनचक्करले हामी नेपालीलाई कति पनि फाइदा गर्दैन । यस्तो राजनीति भनेको देश विनाश गर्ने अनि देश विनाश भएपछि हाम्रोचाहिँ कसरी उन्नति हुन्छ र ? हाम्रा पुर्खाहरूले जसरी सनातन धर्मको पालना गर्दै आएका छन्, मन लाग्छ भने सोही धर्मको अनुशरण र पालना गरौँ, होइन अरु नै धर्म अपनाउने इच्छा वा रहर भए आफू व्यक्तिले अपनाउन पाइयो तर अरु कसैलाई परिवर्तन गर्न दबाब नदिनु शुद्धिमानी काम हो ।
विगतका पुराना राजनीतिक दलहरूले निकै लामो समय शासन सञ्चालन गर्दाका बखत पनि अपेक्षित रुपमा देशको उन्नति हुन र नेपाली जनताका अपेक्षा पूरा गर्न नसकेको सन्दर्भदेखि वर्तमानको जेनजी सरकार गठन भएको कुरा सबैमा विदित नै भएको विषय भयो । पुराना शासकको तुलनामा नयाँ र युवाको शासनले केही सकारात्मक परिवर्तनका ढोका खोल्न सक्छ कि भन्ने लालसा नेपाली जनताको मानसमा उम्रदै गरेको छ । नेपालको उन्नति र जनताका आशा पूरा गराउन नचाहने पुराना राजनीतिक दलहरूलाई यो विषयले नराम्ररी पोलेको छ ।
यसलाई कसरी धराशायी बनाउने ? भन्ने प्रयासमा पुराना राजनीतिक दल लागेका छन् । हाल देशका विभिन्न ठाउँमा भएका उपद्रवहरू मच्चाउनमा पनि कतै यिनैको हात रहेको हो कि भन्ने नेपाली जनताको ठहर रहेको छ । यदि विषय यथार्थ हो रहेछ भने पनि यिनका हर्कतलाई नेपाली जनताले परास्त गराएर छोड्नुपर्छ । उनीहरूले उक्साएका वा उचालेका भरमा नाच्ने गरेर देशमा कायम रहेको शान्ति र अमनचयनमा खलल पु¥याउने काम कोही कसैले पनि गर्नुहुँदैन । फेरि भोलिका दिनमा हामी सबैले सोही समाजसँग मिलेरै बस्नुपर्ने अनि सुख र दुःख साटासाट गर्नुपर्ने दिन आउला भनेर कहिल्यै बिर्सनुहुँदैन ।
नेपाल आफैँमा प्रकृतिले सिँगारेको सुन्दर देश हो । सुन्दर देशका जनता पनि सुन्दर हुन जरुरी छ । जनता सुन्दर हुनु भनेको जनताको हृदय शुद्ध वा सफा हुनुपर्छ भनिएको हो । शुद्ध हृदय भएको एकजना नेपालीले पनि राजनीतिको फोहोरी गुजुल्टोभित्र पसेर आफूलाई सुरक्षित भएको ठान्दै सामाजिक सद्भाव खलबल्याउने काम गर्छ भने उसको हृदय सफा भएको मानिदैन । यदि राजनीति गर्ने उद्देश्यले उक्त काम भएको भए नेपालको संविधानले आम नागरिकलाई राजनीति गर्न पाउने, बेग्लै राजनीतिक दल खोल्न पाउनेजस्ता मौलिक अधिकारका विषयमा अवसर प्रदान गरेकै छ । त्यसकारणले कसैले पनि राजनीतिको फोहोरी गुजुल्टोभित्र लुकेर हङ्गामा मच्चाउने र समाज भड्काउने गलत हर्कत गर्नुहुँदैन । अझ त्यस्तो व्यक्तिले ईश्वर पनि मान्छु भन्छ भने ईश्वरले खराब कामको सजाय दिन्छन् भन्ने कुरा पनि बुझेकै हुनुपर्ने हुन्छ । अन्त्यमा ‘मधेस, पहाड, तराई कोही छैनौँ पराई’ को हाम्रो नारा सही हुनुपर्छ ।











प्रतिक्रिया