विद्यालयमा १४ वर्षीय विद्यार्थीको गोलीकाण्ड : आक्रमणकारीसहित ८ जनाको मृत्यु, १५ घाइते


बैंकक ।

थाइल्यान्डको राजधानी बैंककनजिकै रहेको नोन्थाबुरी प्रान्तको डेबसिरिन नोन्थाबुरी विद्यालयमा शुक्रबार भएको भीषण गोलीकाण्डमा आक्रमणकारीसहित कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार १४ वर्षीय विद्यार्थीले आफ्नै हजुरबुबाको बन्दुक प्रयोग गरी आक्रमण गरेका थिए। घटनाअघि उनले आफ्नै घरमा हजुरबुबा र हजुरआमालाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनी विद्यालय पुगेका थिए।

विद्यालय परिसरमा पुगेपछि उनले गोली चलाउँदा शिक्षक तथा विद्यार्थीहरू प्रभावित भएका थिए। आक्रमणकारीले विद्यालयमा २६ राउन्ड गोली चलाएको रोयटर्सले जनाएको छ। अन्ततः उनले आफैंलाई गोली हानेका थिए।

घटनामा मृत्यु हुनेमा विद्यालयका शिक्षकहरू तथा आक्रमणकारीका हजुरबुबा–हजुरआमा रहेको पछिल्लो विवरणमा उल्लेख छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उद्धार टोलीले घाइतेहरूलाई तत्काल विभिन्न अस्पतालमा पुर्‍याएको थियो।

गोलीकाण्डपछि विद्यालय र आसपासको क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन्। घटनाको वास्तविक कारण वा आक्रमणको उद्देश्य भने तत्काल स्पष्ट भइसकेको छैन।

थाइल्यान्डमा पछिल्ला वर्षहरूमा बन्दुकजन्य हिंसाका गम्भीर घटना दोहोरिँदै आएका छन्। यस घटनाले विद्यालय तथा सार्वजनिक स्थानमा बन्दुकको पहुँच नियन्त्रण, विद्यार्थीको मानसिक तथा सामाजिक अवस्थाको निगरानी र सुरक्षा व्यवस्थामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।