चारैतिरबाट पानीको चाप, निकास साँघुरो, वर्षौँदेखिको जमल डुबान समस्याको जडमा पूर्वाधारको असन्तुलन
काठमाडौँ ।
राजधानीको अत्यधिक व्यस्त क्षेत्र जमल वर्षा हुनेबित्तिकै जलमग्न हुने समस्या नयाँ होइन । वर्षौँदेखि दोहोरिँदै आएको यो समस्याले सर्वसाधारण, सवारी चालक, व्यवसायी र पैदल यात्रुलाई हरेक मनसुनमा सास्ती दिँदै आएको छ ।
सडक केहीबेरको वर्षामै नदी झैँ बन्ने, सवारीसाधन बीचमै रोकिने र पैदल यात्रु जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था यस वर्ष पनि दोहोरिएपछि यसको प्राविधिक कारण सार्वजनिक गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको समन्वयमा गरिएको विस्तृत प्राविधिक अध्ययनले जमल डुबानको मूल कारण पूर्वाधारको असन्तुलित क्षमता रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनअनुसार जमल क्षेत्रमा चारैतिरबाट ठूलो मात्रामा पानी भित्रिने व्यवस्था भए पनि त्यसलाई बाहिर निकाल्ने ढलको क्षमता अत्यन्तै सानो भएकाले वर्षौँदेखि डुबानको समस्या दोहोरिँदै आएको हो ।
प्राविधिक विश्लेषणअनुसार ज्याठाबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यलोप्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका पाइपमार्फत वर्षाको पानी र ढलको पानी जमल चोकमा एकत्रित हुन्छ ।
यी सबै पाइपबाट भित्रिने पानीको कुल प्रवाह क्षेत्रफल ०.८२६ वर्गमिटर रहेको छ, जुन करिब १२० सेन्टिमिटर व्यासको पाइप बराबर हुन्छ । तर उक्त पानी बाहिर निकाल्न भने ६० सेन्टिमिटर व्यासको एउटा मात्र निकास पाइप प्रयोग गरिएको छ, जसको कुल निकास क्षमता ०.२८३ वर्गमिटर मात्र रहेको प्रतिवेदनमा उल्लेख छ । भित्रिने पानीको क्षमता र बाहिरिने निकासबीच झण्डै तीन गुणाको अन्तर रहेको देखिएको छ । यही असन्तुलनका कारण सामान्य वर्षामै पनि जमल क्षेत्र जलमग्न हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।
प्रतिवेदनले अर्को महत्वपूर्ण कारण पनि औँल्याएको छ । जमलको ढल निकास टुकुचा खोलासँग जोडिएको स्थानमा उचाइको अन्तर निकै कम रहेकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलभित्र पस्ने, जसले निकास प्रणालीलाई थप अवरुद्ध बनाउने गरेको छ । यसले पानी सडकमै थुनिने अवस्था सिर्जना गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । प्राविधिक टोलीले यस अवस्थालाई यसअघि माइतीघर मण्डलामा देखिएको ‘बोटलनेक’ समस्यासँग तुलना गरेको छ । अर्थात् धेरै पानी भित्रिने तर निकासको क्षमता निकै कम हुने संरचनागत कमजोरी नै जमल डुबानको मुख्य कारण बनेको निष्कर्ष निकालिएको हो ।
लगातारको डुबानपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्बन्धित सबै निकायलाई एउटै ठाउँमा ल्याएर वास्तविक कारण पहिचान गर्न निर्देशन दिनुभएको थियो । त्यसपछि महानगरपालिकाको विपद् व्यवस्थापन विभागको संयोजनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ तथा महानगरपालिकाका प्राविधिकहरू सम्मिलित टोलीले स्थलगत अध्ययन गरेको थियो ।
रामबहादुर केसीको संयोजकत्वमा गठित समितिमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपाली तथा डिभिजन सडक कार्यालय काठमाडौँकी इन्जिनियर श्रीयंका रौनियार सदस्य रहेका थिए । उनीहरूले स्थलगत निरीक्षण, प्राविधिक मापन र सरोकारवालासँगको छलफलपछि प्रतिवेदन तयार पारेका हुन् ।
प्रतिवेदनले समस्या समाधानका लागि तत्काल, मध्यकालीन र दीर्घकालीन गरी तीन तहका उपाय अघि सारेको छ । तत्कालका लागि जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण गर्ने, ढलका पाइप, म्यानहोल तथा क्याचपिटमा जमेको बालुवा, लेदो, गेग्रान र फोहोर नियमित सफा गर्ने तथा टुकुचा खोलाको बहाव सहज बनाउन पिँध सफा गर्न सुझाव दिइएको छ ।
मध्यकालीन योजनाअन्तर्गत हालको ६० सेन्टिमिटर निकास पाइप हटाएर ठूलो क्षमताको ‘ट्रंक लाइन’ निर्माण गर्नुपर्ने, जमल चोकमा आउने पानीको चाप घटाउन डाइभर्सन प्रणाली विकास गर्नुपर्ने तथा जनप्रशासन क्याम्पस–उडल्याण्ड होटल–महेन्द्र शालिक क्षेत्रको पुरानो ढल प्रणाली पुनः सञ्चालन गर्न अध्ययन गर्नुपर्ने उल्लेख गरिएको छ । यसका साथै त्रिचन्द्र क्याम्पस, होटल, सपिङ मल, विद्यालय तथा निजी भवनहरूमा वर्षाको पानी पुनःभरण (रिचार्ज) प्रणाली लागू गरेर ढलमा पर्ने चाप कम गर्न पनि सुझाव दिइएको छ ।
दीर्घकालीन समाधानका रूपमा महानगरपालिकाले जमल क्षेत्रका भवनमा रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रणाली अनिवार्य गर्नुपर्ने, वर्षाको पानीका लागि छुट्टै स्टोर्म वाटर ड्रेनेज प्रणाली निर्माण गरी त्यसलाई प्रशोधनपछि रानीपोखरीलगायत जलाशयमा पुनःभरण गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ ।
त्यसैगरी, सन् २०१८ मा काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले तयार पारेको ‘डिटेल्ड डिजाइन अफ सेवर रिह्याबिटेसन इन द कोर सिटी एरिया अफ काठमाडौँ मेट्रोपोलिटन सिटी’ अध्ययनलाई पुनः समीक्षा गरी आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजानुपर्ने सुझाव पनि दिइएको छ ।
जमलमा डुबानको समस्या हरेक वर्ष दोहोरिने भए पनि यसको कारणबारे यसपटक विस्तृत प्राविधिक आधारसहित प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले समस्या केवल अत्यधिक वर्षाको नभई योजनाविहीन सहरी पूर्वाधार, अपर्याप्त ढल क्षमता र कमजोर समन्वयको परिणाम भएको स्पष्ट पारेको छ ।
अब चुनौती प्रतिवेदन तयार पार्नु होइन, त्यसमा उल्लेख गरिएका सिफारिसहरू कार्यान्वयन गर्नु हो । सम्बन्धित निकायले सुझाइएका सुधारका काम समयमै अघि बढाउन सके मात्रै राजधानीको वर्षौँदेखिको जमल डुबान समस्याले स्थायी समाधान पाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया