थकाली कल्याण समाज यूकेद्वारा रसुवा बाढीपीडितका लागि १७ लाख ५७ हजार रुपैयाँ सहयोग


काठमाडौँ।

थकाली कल्याण समाज यूकेले रसुवाका बाढीपीडितको राहत तथा सहयोगका लागि १७ लाख ५७ हजार ३४५ रुपैयाँ संकलन गरेको छ।

संकलित रकममध्ये १० लाख रुपैयाँ मन्त्री महावीर पुनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। बाँकी ७ लाख ५७ हजार ३४५ रुपैयाँ थकाली कल्याण समाजको केन्द्रीय समिति, काठमाडौंमार्फत रसुवाका बाढीपीडितको राहत तथा सहयोगका लागि हस्तान्तरण गरिएको समाजले जनाएको छ।

राहत रकम थकाली कल्याण समाज यूकेका उपाध्यक्ष केशर शेरचन, सल्लाहकार टंका तुलाचन तथा सदस्य नगेन्द्र गौचनको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले समाजले उक्त रकम संकलन गरेको जनाएको छ। समाजले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूको योगदानले बाढीपीडित परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।