प्राविधिक सीप विकासदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म, लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान


काठमाडौँ।

लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई नेपाली प्राविधिक उन्नत अटोमोबाइल प्रविधिसम्बन्धी प्रशिक्षण लिन आज दक्षिण कोरिया प्रस्थान गरेका छन्।

उनीहरूले दक्षिण कोरियास्थित Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन्।

प्राविधिक शिक्षा, अप्रेन्टिससिप हुँदै रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको हो। यस अवधिमा उनीहरूले कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधन सर्भिसिङ, डायग्नोस्टिक तथा मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका थिए। अप्रेन्टिससिप पूरा गरेपछि दुवैलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

लक्ष्मी हुन्डाईले सीटीईभीटीअन्तर्गतका पोलिटेक्निक संस्थामा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर प्रदान गर्दै आएको छ। यसबाट विद्यार्थीले प्राविधिक ज्ञानसँगै कार्यस्थल अनुशासन, समस्या समाधान तथा व्यावसायिक सीप विकास गर्ने अवसर पाउँदै आएका छन्।

कम्पनीका अनुसार Hyundai Talent Academy अन्तर्गतको अन्तर्राष्ट्रिय प्रशिक्षणले नेपाली प्राविधिकको सीपलाई थप परिष्कृत गर्नेछ। प्रशिक्षणबाट प्राप्त ज्ञान र अनुभवलाई नेपालमै प्रयोग गर्दै आफ्नो करियर अघि बढाउन उनीहरूलाई सहयोग पुग्ने कम्पनीको विश्वास छ।

कम्पनीले ‘सीप सिकेर विदेश जाने’ मात्र नभई ‘विश्वस्तरीय सीप सिकेर नेपालमै करियर बनाउने’ वातावरण निर्माण गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ।