रौतहट ।
खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट दैनिक भइरहेको बोइलर कुखुराको तस्करीका कारण रौतहटका स्थानीय कुखुरापालक किसान तथा व्यवसायीहरू मर्कामा परेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले तस्करी नियन्त्रणमा चासो नदेखाउँदा लाखौँको स्वदेशी लगानी डुब्ने स्थितिमा पुगेको हो। जिल्लाको रामपुरखाप, बंकुल, नरकटिया, खापघिउरा र मोतिपुर मट्सरी लगायतका सीमावर्ती नाकाबाट दैनिक सयौँ क्विन्टल भारतीय कुखुरा अवैध रूपमा नेपाल भित्र्याइने गरेको छ। बिचौलियाहरूले भारतबाट भित्र्याइएका कुखुरालाई सुरुमा नेपालकै फार्महरूमा राख्ने र पछि स्वदेशी उत्पादनको नक्कली बिल बनाएर बजारमा पठाउने संगठित धन्दानै चलाइरहेको जिल्ला कुखुरा व्यवसायिक किसान सङ्घले लगाएको छ ।
भारतमा उत्पादन लागत कम हुनुका साथै भन्सार तथा कर छलेर ल्याइने भएकाले भारतीय कुखुरा नेपाली उत्पादनभन्दा निकै सस्तोमा बिक्री हुने गरेको छ। भारतमा प्रतिकिलो करिब १ सय ७१ मा पाइने कुखुरा नेपाल भित्र्याएर २ सय ५० मा बिक्री भइरहेको छ। यता, दाना र औषधिको महँगीका कारण नेपाली फार्ममा उत्पादित कुखुराको लागत नै प्रतिकिलो २ सय ६० पुग्छ। सस्तो तस्करीको कुखुराले बजार ओगटेपछि स्थानीय किसानहरूले लगानीसमेत उठाउन नसकेको जिल्ला कुखुरा व्यवसायी किसान सङ्घका सचिव राधेश्याम साहले बताउनुभयो।
जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घ रौतहटका सचिव राधेश्याम साहका अनुसार सीमा नाकामा प्रहरी र बिचौलियाको बलियो मिलेमतो रहेकै कारण तस्करी मौलाएको हो। किसानहरूले ज्ञापनपत्र बुझाउनेदेखि धर्ना र अनसनसम्मका विरोध कार्यक्रम गर्दासमेत प्रशासनले कुनै सुनुवाइ नगरेको उनीहरूको आरोप छ। व्यवसायीहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र बिचौलिया माथि निष्पक्ष छानबिनको माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले वास्तविकता बुझेर कदम चालिने आश्वासन दिए पनि नाकामा तस्करी रोकिएको छैन। अवैध रूपमा भित्र्याइने पशुपन्छीको क्वारेन्टाइन र स्वास्थ्य परीक्षण नहुने भएकाले यसबाट घातक वर्ड फ्लु वा अन्य पशुपन्छीजन्य रोग फैलिने खतरा बढेको छ। यसले किसानको खोर रित्याउने मात्र नभई उपभोक्ताको स्वास्थ्यमा समेत ठूलो जोखिम निम्त्याउने विज्ञहरूको सुझाव रहेको छ। तस्करी तत्काल नरोकिए रौतहटको सिङ्गो कुखुरा व्यवसाय नै धराशायी हुने र हजारौँ किसानको लगानी डुब्ने भन्दै व्यवसायीहरूले अन्तिम चेतावनी दिएका छन्।












प्रतिक्रिया