हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छ: चिनियाँ राजदूत


काठमाडौँ ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै उनले कुनैपनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताए । राजदूत झाङले हिमाली विपद्को जोखिम न्युनिकरणका लागि नेपाल र चीनबीच जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । विपद्को पूर्वसूचना प्रणाली विकास, अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपत्कालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले चीनले विपद्का बेला नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्त्व देखाएको बताए । गत अगस्ट २६ को बाढी तथा पहिरोपछि चीनले नेपाललाई २४ लाख अमेरिकी डलर नगद सहयोगसहित ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगालगायत राहत सामग्री उपलब्ध गराएको उनले जानकारी दिए।

विपद् व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए पहिचान तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २४ जना विज्ञसमेत नेपाल पठाइएको राजदूत झाङले बताए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम आगामी दिनमा थप गम्भीर बन्नसक्ने भएकाले पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार क्षमतालाई बलियो बनाउनुपर्ने उनले बताए । राजदूत झाङले नेपाल र चीनले हिमाली विपद्लाई साझा चुनौतीका रूपमा लिएर हरित विकास, स्वच्छ ऊर्जा, वातावरण संरक्षण र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा समेत सहकार्य विस्तार गर्नुपर्ने बताए ।