ल्याब असिस्टेन्टदेखि निर्देशकको कार्यकक्षसम्म डा. रामहरि चापागाईंको प्रेरणादायी ३४ वर्षे यात्रा

1.79k
Shares

काठमाडौँ।

कान्ति बाल अस्पतालको निर्देशकको कार्यकक्षमा बुधबार पहिलो पटक प्रवेश गर्दा डा. रामहरि चापागाईंका लागि नयाँ जिम्मेवारी त थियो, तर संस्था र वातावरण भने पूर्णतः परिचित। अस्पतालका हरेक शाखा, प्रयोगशाला, वार्ड र सेवा प्रवाहसँग उहाँको सम्बन्ध तीन दशकअघि नै गाँसिइसकेको थियो।

३४ वर्षअघि यही अस्पतालमा एक युवा ल्याब असिस्टेन्टका रूपमा प्रवेश गर्नुभएका उहाँ आज सम्पूर्ण अस्पतालको नेतृत्व सम्हाल्ने सर्वोच्च प्रशासनिक पदमा पुग्नुभएको छ। एउटै संस्थामा तल्लो तहको प्राविधिक कर्मचारीदेखि कार्यकारी निर्देशकसम्मको यात्रा तय गर्नु नेपाली स्वास्थ्य क्षेत्रमा एउटा दुर्लभ र प्रेरणादायी संयोग बनेको छ।

बुधबार पदबहालीका क्रममा उहाँको अनुहारमा न त कुनै अति उत्साह थियो, न त आडम्बर। बरु लामो अनुभवले दिएको आत्मविश्वास र नयाँ जिम्मेवारीको गम्भीरता प्रष्ट झल्किन्थ्यो। “मलाई यो पद बिल्कुलै नयाँ लागेको छैन,” संक्षिप्त प्रतिक्रिया दिँदै डा. चापागाईंले भन्नुभयो, “यहाँ चिकित्सकीय सेवा मात्र होइन, विभिन्न समयमा प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारीसमेत सम्हालिसकेको छु। म यही अस्पतालमा ल्याब असिस्टेन्टको रूपमा पनि काम गरेको मान्छे हुँ। जीवन चक्रजस्तै लाग्छ— मानिस जन्मिएपछि विभिन्न चरण पार गर्दै अघि बढेझैँ मेरो यात्रा पनि त्यस्तै भएको महसुस गर्छु।”

अध्ययन र संघर्षबाट सुरु भएको यात्रा

काभ्रेको पनौती नगरपालिका, टौखालमा माइलो सुपुत्रका रूपमा जन्मनुभएका डा.चापागाईंको स्वास्थ्य क्षेत्रको यात्रा एसएलसीपछि सुरु भएको थियो। कान्ति बाल अस्पतालकै छेउमा रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा उहाँ ल्याब टेक्निसियन अध्ययन गर्दै हुनुहुन्थ्यो। २०४९ सालमा अन्तिम वर्षको परीक्षा दिएर नतिजाको प्रतीक्षामा बस्दा एक सिनियरको सल्लाहमा उहाँले अनुभव बटुल्न कान्ति बाल अस्पतालमा ल्याब असिस्टेन्टका रूपमा काम सुरु गर्नुभयो। त्यसपछि उहाँ त्रिपुरेश्वरस्थित आँखा अस्पताल र कान्तिमै ल्याब टेक्निसियनका रूपमा कार्यरत रहनुभयो।

तर उहाँको सपना यतिमा सीमित थिएन। आईओएममा स्थायी जागिर पाएपछि उहाँ अध्ययनमा निरन्तर लागिरहनुभयो र एमबीबीएस अध्ययन गर्ने अवसर प्राप्त गर्नुभयो। एमबीबीएस पूरा गरेपछि नेपाल सरकारको स्वास्थ्य सेवामा प्रवेश गरी उहाँले दोलखाको दुर्गम जिरीमा चार वर्ष सेवा गर्नुभयो। दुर्गमका बालबालिकाको स्वास्थ्य समस्यालाई नजिकबाट देख्नुभएका उहाँले पछि राष्ट्रिय चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स) बाट बालरोगमा विशेषज्ञता (एमडी) हासिल गर्नुभयो।

विशेषज्ञ चिकित्सक बनेपछि उहाँले देशका विभिन्न भागहरू—नेपालगञ्ज, धनगढी र महेन्द्रनगरका सरकारी अस्पतालमा पुगेर बिरामीको सेवा गर्नुभयो। झन्डै एक दशकअघि उहाँ पुनः कान्ति बाल अस्पताल फर्किनुभयो। नवौँ तहबाट प्रवेश गरी दशौँ हुँदै एघारौँ तहका वरिष्ठ चिकित्सक बन्नुभएका उहाँ अस्पतालको व्यवस्थापन, प्रशासन र नीतिगत सुधारका कार्यहरूमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।

पारिवारिक जिम्मेवारी र सादगी जीवन

चिकित्सकीय र प्रशासनिक व्यस्तताका बाबजुद डा.चापागाईं आफ्नो पारिवारिक र सामाजिक उत्तरदायित्वप्रति उत्तिकै सजग हुनुहुन्छ। वृद्ध बुबा-आमा, श्रीमती र दुई सन्तानसहितको परिवारमा उहाँ अभिभावकीय भूमिका कुशलतापूर्वक निभाउनुहुन्छ। घरमा रहनुभएका वृद्ध बुबा-आमाको स्वास्थ्य रेखदेखका लागि सार्वजनिक बिदाका दिन पनौतीस्थित टौखाल पुग्नु उहाँको नियमित दिनचर्याभित्र पर्छ।

उहाँसँग नजिकबाट काम गरेका सहकर्मीहरूका अनुसार उहाँ पदको पछाडि दौडिने व्यक्ति हुनुहुन्न, बरु सुम्पिएको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गरेर आफ्नो क्षमता प्रमाणित गर्ने स्वभाव उहाँको छ। त्यसैले उहाँको यो नियुक्तिलाई सहकर्मीहरूले एक व्यक्तिको सफलता मात्र नभई संस्थाले आफ्नै निष्ठावान् कर्मचारीमाथि गरेको विश्वासको प्रतीकका रूपमा लिएका छन्।

पदभार ग्रहण गर्दै गर्दा उहाँले कुनै ठूला र असम्भव घोषणा गर्नुभएन। बरु अस्पतालको सेवा प्रवाहलाई अझ व्यवस्थित, प्रविधिमैत्री र बालमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रयोगशालाको एउटा सानो टेबलबाट सुरु भएको उहाँको यात्रा आज निर्देशकको कार्यकक्षसम्म आइपुगेको छ। तर डा. चापागाइँका लागि यो कुनै अन्तिम गन्तव्य होइन। “यो अन्तिम विन्दु होइन,” उहाँ भन्नुहुन्छ, “कान्ति बाल अस्पताललाई देशकै उत्कृष्ट र भरपर्दो बालबालिकाको उपचार केन्द्र बनाउने नयाँ जिम्मेवारीको सुरुवात मात्र हो।”