प्रदर्शन अगावै दर्शकको मन जित्दै चलचित्र ‘हली’


काठमाडौँ। 

छाउपडी प्रथाजस्तो गम्भीर र संवेदनशील विषयलाई पर्दामा उतारेको चलचित्र ‘हली’आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा ‘हली’ चलचित्र बनेको हो । चलचित्रमा बालिकाहरूले भोग्नुपर्ने सामाजिक दुर्व्यवहार र पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

  ओम प्रतीकले निर्देशन गरेको चलचित्र हलिको निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठ रहेका छन्। चलचित्रले आशा गरे भन्दा बढी दर्शकको मन जित्ने र राम्रो ब्यापार गर्ने कुरामा निकै उत्साहित देखिएको निर्मात्रीद्वय गुरुङ र श्रेष्ठले प्रतिक्रिया दिनुभयो। 

 चलचित्र ‘हली’ ले रिलिजअघि नै दर्शकको मन जित्ने सङ्केत गरेको छ। काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजना गरिएको विशेष शोमा सिनेमाले चलचित्रकर्मी र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्माण टिम उत्साही देखिन्छ । खचाखच दर्शकका बीच प्रदर्शन गरिएको सिनेमा हेरेपछि अधिकांशले छाउपडी प्रथाजस्तो गम्भीर र संवेदनशील विषयलाई पर्दामा उतारेको भन्दै निर्माण टिमलाई बधाई दिएका थिए। चलचित्रले आक्रामक प्रचार पनि गरिरहेको छ। पोखरा लगायतका शहरमा आमा समुह नै घरदैलो गरेर चलचित्रको प्रचारमा व्यस्त छ भने विद्यालयहरु र सबै शहरमा पनि प्रचारप्रसारको काम भइरहेको निर्मात्री पूजा गुरुङले जानकारी दिनुभयो।

 समाज र देश रूपान्तरणका लागि एउटा ‘हली’ नै पर्याप्त हुन्छ भन्ने बलियो सन्देश बोकेको यो सिनेमालाई ओम प्रतीकले लेखन र निर्देशन गरेका हुन्।  सिनेमामा निर्देशक प्रतीकसँगै प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी मुख्य भूमिकामा छन्। चलचित्रको अर्को आकर्षण यसको प्रमोशनल गीत हो, जसमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता स्टार कलाकारहरूले कम्मर मर्काएका छन्।

 सिनेमामा अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह–निर्मात्री, लक्ष्मण कर्माचार्य लाइन प्रोड्युसर र जीवननाथ गौतम मुख्य सहायक निर्देशक रहेका छन्। राहुल राईले खिचेको यो चलचित्रलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको छ। सिनेमामा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत सुन्न सकिन्छ। निर्माता जश्मिन श्रेष्ठको शब्द रहेको एउटा गीतमा बाबुल र शान्तिश्री परियारले स्वर दिएका छन्, जसलाई ओम प्रतीक र कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। नेशनल सिने ग्रुपले वितरण गर्ने ‘हली’ को डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।