कान्ति बाल अस्पतालको निर्देशकमा डा रामहरि चापागाईं नियुक्त


काठमाडौं।

सरकारले झण्डै तीन वर्षपछि कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन गरेको छ। २०८० भदौ १३ गते अस्पतालको निर्देशक नियुक्त हुनुभएका डा. पंकज राय आजदेखि जिम्मेवारीमुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. रायको स्थानमा एघारौँ तहका चिकित्सक डा. रामहरि चापागाईँलाई अस्पतालको नयाँ निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

डा. रायलाई तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेतले कान्ति बाल अस्पतालको निर्देशक नियुक्त गर्नुभएको थियो। त्यसयता उहाले निरन्तर अस्पतालको नेतृत्व गर्दै आउनुभएको थियो। उहा कान्ति बाल अस्पतालमा लगातार लामो समय नेतृत्व गर्ने निर्देशकमध्ये एक मानिनुहुन्छ ।

नेतृत्व परिवर्तनसँगै डा. रायमाथि मन्त्रालयले अघि बढाएको स्पष्टीकरण प्रक्रिया भने जारी रहेको स्रोतले जनाएको छ। अघिल्लो साता नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गरेको क्रममा सरकारी सवारीसाधन प्रयोग गरेर निजी अस्पतालमा सेवा दिन गएको आरोप लागेपछि उहाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डा. रायसँग लिखित स्पष्टीकरण मागेको थियो।

मन्त्रालयका एक उच्च स्रोतका अनुसार, “स्पष्टीकरणको प्रक्रिया आफ्नो ठाउँमा चलिरहेको छ। तर तत्कालका लागि उहाँलाई निर्देशकको जिम्मेवारीबाट मुक्त गरिएको हो।