दुई महिनाको सवारी दूर्घटनामा १० को ज्यान गयो,१५६ घाइते

188
Shares

उदयपुर ।

उदयपुर जिल्लामा गत जेष्ठ र असार महिनामा विभिन्न ठाउँमा भएका सवारी दूर्घटनामा परी १० जनाको ज्यान गएको छ भने १सय ५६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले उपलब्ध गराएको दुई महिनाको विवरण अनुसार २०८३ जेष्ठ महिनामा ३४ वठा सवारी दूर्घटना भएकोमा ५ जनाले ज्यान गुमाएका छन । सो दूर्घटनामा परेर ९३ जना घाइते भएकामा प्रहरीले ४७ जनाको उद्धार गरी उपचारकालागि विभिन्न अस्पतालमा भर्ना गरेको थियो । यस महिनामा दूर्घटनामा संलग्न सवारी साधनको संख्या ३९ वटा रहेको थियो ।

जेष्ठ महिनामा सवारी चालकको लापर्वाहीले २४ वटा, सवारी साधनको अवस्थाले २ वटा, चौपायाका कारण १ वटा र सडकको दुरावस्थाका कारण १ वटा गरी जम्मा २८ वटा सवारी दूर्घटना भएको जिल्ला प्रहरी कार्यालयद्धारा उपलब्ध गराइएको विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी २०८३ असारमा भएका २८ वटा दूर्घटनामा पनि ५ जनाले नै ज्यान गुमाएका छन भने ६३ जना घाइतेलाई प्रहरीले उद्धार गरी उपचारकालागि विभिन्न अस्पतालमा भर्ना गरेको थियो ।

असार महिनामा सवारी दूर्घनामा ४५ वटा सवारी साधन संलग्न रहेको जिल्ला प्रहरी कार्यालय उदयपरले जनाएको छ । यस महिनामा चालकको लापर्वाहीले २९ वटा, सवारी साधनको अवस्थाका कारण २ वटा, सडकको दुरावस्थाका कारणले २ र अन्य कारणले १ वटा गरी जम्मा ३४ वटा सवारी दूर्घटना भएको उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।

२०८३ वेष्ठ महिनामा सडकमा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले ३ हजार ५ सय ५ वटा चेकिङ गरिएकोमा ७ सय ६६ वटा सवारी साधन नियम मिचेर चलाएका कारण कार्वाही गरिएको र सो कार्वाहीबाट रु.७ लाख ४३ हजार राजस्व संकलन भएको विवरणमा उल्लेख गरिएको छ ।

२०८३ असार महिनामा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले ३ हजार ३ सय ६० वटा चेकिङ गरेकोमा ६ सय ४ सवारी साधनलाई कार्वाही गरिएको र यसबाट ६ लाख २८ हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सडकमा सवारी दूर्घटना न्युनिकरणकालागि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले जनचेतना अभियान संचालन गरेको, सवारी चालक तथा यात्रुहरुलाई सवारी साधन होशियारी पूर्वक, विस्तारै चलाउन, हतार नगर्न र सडक बाटोको अवस्था बुझेर सवारी चलाउन अनुरोध गगर्ने गरेको छ ।