पठन संस्कृति : समृद्ध नेपालको बलियो जग

470
Shares

अहिलेको नेपाली समाजमा एउटा आम गुनासो चौतर्फी सुनिन्छ– अभिभावकहरू किताब पढ्दैनन्, शिक्षकहरू विद्यार्थीलाई पढ्न अभिप्रेरित गर्दैनन् र विद्यार्थी पढ्ने कामलाई केवल परीक्षा उत्तीर्ण गर्ने र गृहकार्यको भारी बोक्ने माध्यम मात्र ठान्छन् । यो समस्या हाम्रो समाजमा यत्रतत्र छ । यस विषयमा विभिन्न मञ्चहरूमा बहस र अन्तरक्रियाहरू त भइरहेका छन्, तर ठोस र व्यावहारिक समाधान भने अझै पनि ओझेलमा परेको आभास हुन्छ ।

वास्तवमा, यो समस्याको वास्तविक पहिचान र समाधान के होला त ? यसै प्रश्नको उत्तर खोज्ने क्रममा मेरो भेट पठन संस्कृतिमा पूर्णतया अभ्यस्त एक विद्यालयका प्राचार्यसँग भयो । सँगै सुदेश डोटेल र ‘बुकल्यान्ड’ सँगको सहकार्यले मेरो सोच्ने तरिका र दृष्टिकोण नै परिवर्तन गरिदियो । यो भेट र अनुभव मेरो व्यक्तिगत जीवनमा मात्र नभई पठन संस्कृति अभियानकै लागि एउटा ठूलो फड्को साबित बन्यो । यस भेटले ममा आशा र विश्वासको नयाँ बीजारोपण ग¥यो । आफ्नै परिस्थितिको वस्तुगत विश्लेषण गर्दै मैले पठनको यात्रा शुरु गरेँ, जसले आज एउटा सानो गोरेटोलाई राजमार्गमा बदल्ने आत्मविश्वास दिएको छ । स्मरण रहोस्, स्वयं आफू विश्वस्त नभई अरूलाई प्रेरित गर्न सकिँदैन, त्यसैले परिवर्तनको शुरुवात आफैँबाट हुनु आवश्यक छ ।

हामी किन पढ्ने ?
समाजको रूपान्तरण र अनुशासनका लागि ‘चिन्तन’ र ‘चेतना’ अपरिहार्य तत्व हुन्, जसको एकमात्र सशक्त माध्यम पठन हो । हाम्रो मनमा उठ्ने कैयौँ प्रश्नहरूको जवाफ खोज्ने र कुनै पनि विषयवस्तुलाई बहुआयामिक ढङ्गले हेर्ने क्षमता पठनले नै प्रदान गर्छ ।
एक मननीय प्रश्न– हाम्रो देशका नेताहरूले डाँडा–डाँडामा करोडौँ खर्चेर ’भ्यु टावर’ बनाउनुको सट्टा गाउँ–गाउँमा आधुनिक पुस्तकालय र खेलमैदान बनाएको भए आज नेपालको अवस्था कस्तो हुन्थ्यो होला ? त्यसो भएको भए आज हामीसँग धेरै अनुसन्धानकर्ता, चिन्तक, नवप्रवर्तक, दार्शनिक, कुशल खेलाडीहरू र खुशी तथा स्वस्थ नागरिकहरू हुने थिए । आज समाजमा प्रतिशोधको भावना बढ्नु, सामाजिक सञ्जालमा अरूलाई गाली–गलौज गर्ने बानी मौलाउनु र रचनात्मकताभन्दा नकारात्मकता मात्रै हाबी हुनुको मुख्य कारण पुस्तक नपढ्नु अर्थात् अध्ययनशीलताको कमी नै हो ।

इतिहासका केही ज्वलन्त उदाहरण
समाज परिवर्तनको मुख्य संवाहक पठन संस्कृति नै हो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ ।
● राजनीतिक चेतना ः राणा शासनविरुद्ध बीपी कोइरालाले उठाएको वैचारिक आवाज होस् वा विभिन्न कालखण्डमा उठेका क्रान्तिकारी कदमहरू, ती सबैको जड गहन अध्ययन र चेतनाको पुञ्ज नै थियो ।
● व्यक्तित्व विकास ः बीपी कोइराला, मदन भण्डारीजस्ता प्रखर राजनीतिज्ञहरूको उचाइ वा महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता साहित्यिक हस्तीहरूको सिर्जनात्मक क्षमताको पछाडि उहाँहरूको पठनप्रतिको अगाध लगाव थियो । शारीरिक रूपमा फरक क्षमता भएर पनि झमककुमारी घिमिरेले पठन संस्कृति र लेखनकै माध्यमबाट आफूलाई विश्वसामु प्रेरणाको बलियो स्रोत बनाउनुभयो ।
● विश्वव्यापी अनुभव ः विश्वका सर्वाधिक सफल उद्यमी एलन मस्कलाई जब सोधियो– ‘तपाईंलाई रकेट बनाउन कसले सिकायो ?’ तब उहाँको सीधा र स्पष्ट उत्तर थियो– ‘किताब पढेर’ ।
आज हामीले भोगिरहेको विकासको सुस्तता र कार्यशैलीमा देखिएको खोटको मुख्य कारण नै पठन संस्कृतिको अभाव हो । पठनविना नवीन सोच र कार्यप्रतिको वास्तविक लगाव पैदा हुन सक्दैन । अहिले धेरै काम केवल देखावटी, औपचारिकता पूरा गर्न वा कर्तव्य निर्वाहका लागि मात्र भइरहेका छन् । यदि हामीले मुलुकमा वास्तविक र दिगो परिवर्तन ल्याउने हो भने पठन संस्कृतिलाई अभियानकै रूपमा अगाडि बढाउनुको विकल्प छैन ।पठनले मात्र व्यक्तिलाई तार्किक चिन्तक, नवप्रवर्तनकारी र जिम्मेवार नागरिकमा रूपान्तरण गर्न सक्छ ।

वर्तमान नेपाल संघीयताको अभ्यास, सामाजिक–आर्थिक रूपान्तरण र युवा जनसंख्याको बाहुल्य भएको एउटा महत्त्वपूर्ण ऐतिहासिक मोडमा उभिएको छ । यस्तो अवस्थामा शैक्षिक पाठ्यक्रम र परीक्षाको घेराभन्दा बाहिर निस्किएर पुस्तक पढ्ने बानी बसाल्नु कुनै विलासिता होइन, बल्कि यो नेपालको समग्र राष्ट्रिय विकासको एउटा अपरिहार्य र बलियो जग हो ।

चेतना, चिन्तन र दूरदर्शिताको प्रस्थानविन्दु
पठन संस्कृतिको अभावमा समाज सतही ज्ञान र अफवाहको दलदलमा फस्ने जोखिम सधैँ रहन्छ । जब नागरिकमा गहन अध्ययनको बानी बस्छ, तब मात्र समाजमा ‘क्रिटिकल थिङ्किङ’ (आलोचनात्मक चेत) को विकास हुन्छ । किताब पढ्ने समाजले नेतृत्वलाई ‘किन, कसरी र केका लागि’ भनेर प्रश्न गर्न सक्छ र अन्धभक्त हुने प्रवृत्ति स्वतः घट्दै जान्छ ।

सामाजिक सञ्जालका १५ सेकेन्डका भिडियो वा भ्रामक हेडलाइनको भरमा धारणा बनाउनुको सट्टा गहन अध्ययनले मानिसलाई सतही ज्ञानबाट मुक्ति दिई विषयवस्तुको चुरो बुझ्न सघाउँछ । यसले समाजमा फैलिने भ्रम र मिथ्या सूचनालाई सजिलै खारेज गर्दै तथ्यमा आधारित स्वस्थ बहसको संस्कृति निर्माण गर्छ, चाहे त्यो गाउँको चियापसल होस् वा देशको संसद् ।

साथै, इतिहास, साहित्य र दर्शनको अध्ययनले नेतृत्व र नागरिक दुवैलाई ऐतिहासिक गल्तीहरूबाट पाठ सिक्न र भविष्यमा आउने चुनौतीहरूको पूर्वानुमान गर्न सक्षम बनाउँछ । अरूको कथा र सङ्घर्ष पढ्दा नागरिकहरूमा समानुभूति, सामाजिक सद्भाव र फरक विचारप्रति सहिष्णुताको भावना जागृत हुन्छ, जुन शान्तिपूर्ण विकासका लागि अनिवार्य सर्त हुन् ।

मानव पुँजी, सुशासन र आर्थिक दिगोपन
कुनै पनि देशको आर्थिक मेरुदण्ड त्यहाँको मानव पुँजी हो । निरन्तर अध्ययनले श्रमबजारमा माग भइरहने नयाँ प्रविधि र सीपसँग मानिसलाई अद्यावधिक राख्दै दक्ष जनशक्ति निर्माण गर्छ । व्यावसायिक जीवनी र अर्थशास्त्रका पुस्तकहरूले युवाहरूलाई जागिरे मानसिकताबाट माथि उठाई उद्यमशीलतातर्फ प्रेरित गर्छन् । बजारको उतारचढाव र जोखिम व्यवस्थापन बुझेका अध्ययनशील उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरू बढी दिगो र सफल हुन्छन् ।

अध्ययनशील समाजले भौतिक पूर्वाधारमा मात्र होइन, अनुसन्धान र विकासमा पनि जोड दिन्छ । नागरिकमा आर्थिक साक्षरता बढ्दा देशको आर्थिक जग बलियो हुन्छ र देशमै सम्भावनाहरू देखिने हुँदा प्रतिभा पलायन अर्थात् ‘ब्रेन ड्रेन’ को न्यूनीकरणमा ठूलो मद्दत पुग्छ ।

सुशासनमा पठन संस्कृतिको प्रभाव
सचेत मतदाता ः
चुनावी घोषणापत्र र दलहरूको विगत पढेर भोट हाल्ने नागरिकले सधैँ सक्षम नेतृत्व छनोट गर्छन् ।
भ्रष्टाचारको विरोध ः कानुन, नियम र आफ्ना अधिकारबारे सचेत नागरिकलाई कसैले सहजै ठग्न वा फसाउन सक्दैन ।
पारदर्शी नीति निर्माण ः नीति निर्माताहरू अध्ययनशील हुँदा हचुवाको भरमा नभई ‘डेटा’ र ‘केस स्टडी’ का आधारमा जनपक्षीय कानुन बन्छन् ।
नागरिक खबरदारी ः सरकारी बजेट, खर्च र प्रतिवेदनहरू पढेर प्रश्न गर्न सक्ने समाज नै लोकतन्त्रको वास्तविक खम्बा बन्छ ।
पर्यावरण र सामाजिक रूपान्तरण
पठन संस्कृतिले भौतिक विकासको मोडेललाई समेत पर्यावरणमैत्री बनाउन मार्गनिर्देश गर्छ । दिगो विकास र पर्यावरणीय अर्थशास्त्रको अध्ययनले नेपालमा भइरहेको विना–इन्जिनियरिङको ‘डोजरे विकास’ को अन्त्य गरी भूगर्भ र वातावरण अनुकूलको पूर्वाधार निर्माण गर्ने चेत खोल्छ । जैविक विविधता र जलवायु परिवर्तनको गाम्भीर्य बुझेका नागरिकहरूले नवीकरणीय ऊर्जा, चक्रिय अर्थतन्त्र फोहोरमैला व्यवस्थापन र जैविक कृषिको प्रवद्र्धनमा सक्रिय योगदान दिन्छन् ।

त्यस्तै, सामाजिक रूपान्तरणका क्षेत्रमा पनि यसको भूमिका अद्वितीय रहन्छ । विज्ञान र समाजशास्त्रको अध्ययनले बोक्सी प्रथा, छाउपडी वा जातपातजस्ता कुरुती र अन्धविश्वासलाई जरैदेखि उखेल्न मद्दत गर्छ । मानसिक स्वास्थ्यका दृष्टिले पुस्तक पढ्नु आफैँमा एउटा उत्कृष्ट ‘थेरापी’ हो, जसले मानसिक तनाव, डिप्रेसन र एन्जाइटी घटाउँछ । पोषण र शारीरिक व्यायामसम्बन्धी जानकारी पढ्ने समाजमा निवारक स्वास्थ्यको विकास भई राज्यको स्वास्थ्य बजेटसमेत जोगिन पुग्छ ।

निष्कर्ष ः
पुस्तकालय नै विकासको पहिलो पूर्वाधार हो । त्यसैले ठूला–ठूला भ्यु–टावर वा कङ्क्रिटका अनुत्पादक संरचनाहरू बनाएर बजेट सक्नुभन्दा पहिले प्रत्येक पालिकामा एउटा समृद्ध पुस्तकालय खोल्नु र अध्ययन संस्कृतिको विकास गर्नु नै दूरदर्शी विकासको वास्तविक प्रस्थानविन्दु हो । हाम्रो वर्तमान शिक्षा प्रणालीमा व्यापक सुधार गर्दै र डिजिटल प्रविधिलाई रचनात्मक ढङ्गले उपयोग गर्दै नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न सके मात्र समृद्ध, न्यायपूर्ण र विकसित नेपालको वास्तविक मेरुदण्ड तयार हुनेछ ।
(लेखक जोशी शिक्षाकर्मी हुनुहुन्छ ।)