सिन्धुली ।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको बस दुर्घटनाका पीडित परिवारले क्षतिपूर्ति र घटनाको निष्पक्ष छानबिनको माग गर्दै मध्यपहाडी लोकमार्ग बन्द गराएका छन्। पीडित परिवारले टायर बालेर सडक अवरुद्ध गरेका हुन्।
घटना भएको करिब २४ घण्टा बितिसक्दा पनि बस धनी र समितिले बेवास्ता गरेको आरोप लगाउँदै दोषीलाई कडा कारबाही र उचित क्षतिपूर्तिको माग उनीहरूले गरेका छन्।
मध्यपहाडी लोकमार्गमा सडक छेउमा रोकिराखिएको कारलाई तीव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिँदा कारसहित तीन जना सुनकोशी नदीमा बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य हिजोदेखि जारी रहे पनि नदीको तीव्र बहावका कारण समस्या भएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुली गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन्।
काठमाडौंँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले खुर्कोटबाट खोटाङतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। उक्त कार मध्यपहाडी लोकमार्ग पुनर्निर्माणमा संलग्न निर्माण कम्पनीको रहेको बताइएको छ।
दुर्घटनापछि बस चालक फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको प्रहरीले जनाएको छ।
बेपत्ता व्यक्तिहरूको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र स्थानीयवासी परिचालन भएका छन्।











प्रतिक्रिया