नक्कली बिल–भरपाई तयार गरी ३९ लाख १२ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोग, लेखापरीक्षकसमेत प्रतिवादी
काठमाडौँ ।
सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका ११ जना पदाधिकारीविरुद्ध सोमवार भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको आम्दानी हिनामिना गरेको अभियोगमा विशेष अदालतमा सो मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानले बताउनुभयो । मुद्दामा मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खिमबहादुर सावद, सचिव बनौली रोकाय, कोषाध्यक्ष जमानसिंह धामीलाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष पदमसिं सावद, सचिव पूर्णदेवी धामी, कोषाध्यक्ष रुद्रबहादुर बन्तोला, मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष हर्कबहादुर बुढा, सचिव तुल्सी दानी, कोषाध्यक्ष चक्रबहादुर सावदलाई पनि प्रतिवादी बनाइएको छ । त्यस्तै पाठक एण्ड एसोसियट्सका रजिष्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक र प्रेमबहादुर बि.सी. एण्ड कम्पनीका रजिष्टर्ड लेखापरीक्षक प्रेमबहादुर बि.सीविरुद्ध पनि मुद्दा दायर गरेको छ । मुद्दा दायर हिनामिना गरेको रकम बराबर बिगो जरिवाना मागदाबी लिइएको छ ।
नक्कली बिल भरपाई देखाएर लाखौँ रकम अनियमितता गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्दै जाँदा सो वनको आम्दानी हिनामिना भएको पाइएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार मालिका सामुदायिक वन उपभोक्ता समूहले काठ बिक्री गरेबापत आम्दानी भएको समितिको रकम काम नै नभएको शीर्षकहरूमा समेत खर्च भएको भनी झुट्टा विवरण तयार गरी गराई लेखापरीक्षण प्रतिवेदनसमेतमा देखाई लाखौँ रकम हिनामिना गरेका थिए ।
उपभोक्ता समूहका पदाधिकारीहरूले आ.व. २०७२÷०७३ देखि आ.व. २०७८÷०७९ सम्म झाडी सफाइ, अग्नि रेखा निर्माण, खरघाँस रोपण÷वृक्षरोपण, वनहेरालु तलब, भैँसी पालन, बाख्रा पालन, डढेलो नियन्त्रण, मौरी घारसमेतका खर्चहरूको नक्कली बिल भरपाई पेश गरेका थिए ।
आ.व. २०७२÷७३ मा २८ लाख ५८ हजार २ सय रुपैयाँ आम्दानी गरेकामा १६ लाख ४३ हजार ५ सय ८६ रुपैयाँ ८४ पैसा हिनामिना गरेको अख्तियारले जनाएको छ । त्यसैगरी आ.व. २०७३÷७४ मा काठ बिक्रीबापत १६ लाख १८ हजार ५ सय ३० रुपैयाँ आम्दानी गरेकामा ५ लाख १३ हजार १ सय ७४ रुपैयाँ हिनामिना गरेको थियो ।
आ.व. २०७४÷७५ मा काठ बिक्री तथा आपूर्ति बापत १५ लाख ७५ हजार १ सय १५ रुपैयाँ आम्दानी भएकामा १३ लाख ६५ हजार ८ सय रुपैयाँ पैसठ्ठी पैसा हिनामिना गरेको थियो । त्यसैगरी आ.व. २०७५÷७६ र २०७६÷०७७ मा समितिको रकम ३ लाख ९० हजार रुपैयाँ हिनामिना गराएको अख्तियारले जनाएको छ । यसरी आ.व. २०७२÷७३ देखि आ.व. २०७६÷७७ सम्ममा जम्मा ३९ लाख १२ हजार ५ सय ६० रुपैयाँ ८४ पैसा हिनामिना गराएको थियो ।
मालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षक समेतको मिलेमतो र योजनामा उक्त वन उपभोक्ता समूहले काठ बिक्री तथा आपूर्तिबाट आम्दानी गरेको रकमबाट हिनामिना गरे गराएको पुष्टि भएको अभियोगपत्रमा भनिएको छ । ‘सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा १९ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको हो’ –प्रवक्ता न्यौपानेले भन्नुभयो ।
त्यसैगरी अख्तियारले सिरहाको वन डिभिजन कार्यालय बन्दीपुरका कार्यालयप्रमुख रामकेवलराय यादवविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यादवले उद्योगका लागि ल्याएको काठहरू सिलबन्दीअनुसार भए नभएको रुजु गर्ने क्रममा सेवाग्राहीहरूलाई दुःख दिई रकम लिएको उजुरीको आधारमा यादवलाई पक्राउ गरिएको थियो । यादवले सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिएका थिए ।











प्रतिक्रिया