युनेस्कोले लुम्बिनीलाई खतराको सूचीमा राख्ने निर्णय एक वर्षका लागि स्थगित

0
Shares

काठमाडौँ ।

संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को बैठकले विश्व सम्पदास्थल लुम्बिनीक्षेत्र र मायादेवी मन्दिर खतराको सूचीमा राख्ने पूर्ववत् निर्णय स्थगित गरेको छ । यो सँगै अब एक वर्षका लागि नेपालले मायादेवी मन्दिर र लुम्बिनी क्षेत्रको सुधार गर्ने मौका पाएको छ ।

नेपालले लुम्बिनी क्षेत्रको सुधार गरेका कारण सन् २०२६ मा खतराको सूचीमा राख्ने पूर्ववत् निर्णय फिर्ता गरेको हो । युनेस्को वल्र्ड हेरिटेज सेन्टरको जुलाई २९ मा सम्पन्न बैठकले हाललाई खतराको सूचीमा राख्ने निर्णय फिर्ता लिएको हो । दक्षिण कोरियाको बुसानमा सम्पन्न बैठकले पूर्वनिर्धारित कार्यतालिकाबमोजिम काठमाडौँ उपत्यका विश्व सम्पदा स्थल र लुम्बिनी विश्व सम्पदा स्थलको विषयमा छलफल गरेको थियो ।
बैठकमा लुम्बिनी र मायादेवी मन्दिरलाई खतराको सूचीमा राख्ने कि नराख्नेभन्ने विषयमा बृहत् छलफल भएको थियो । त्यस क्रममा नेपालले सुधारका योजना र सुधार गरेका विषय सार्वजनिक गरेको थियो । ‘सोही आधारमा यो वर्षका लागि खतराको सूचीमा राख्ने काम स्थगित भएको हो’ –बैठकमा सहभागी पुरातत्व विभागमा महानिर्देशक सौभाग्य प्रधानाङ्गले भन्नुभयो ।

सम्भावित खतराको सूचीमा राख्ने वा नराख्ने विषयमा अध्ययन गर्न गत वर्ष युनेस्को विश्व सम्पदा केन्द्रबाट दुई विज्ञ नेपाल आएका थिए । फेबु्रअरी ४ देखि ११ तारिखसम्म विज्ञद्वय रोल्याण्ड लि र डा माइकल पियर्सनले लुम्बिनी र मायादेवी मन्दिको अवलोकन गरेका थिए । विज्ञको प्रतिवेदन र आशालाग्दो सुधार भएको कारण यो वर्षका लागि खतराको सूचीबाट फिर्ता भएको हो ।

बैठकमा लुम्बिनीसँगै काठमाडौँ उपत्यका विश्वसम्पदा स्थलका लागि इन्टरनेसनल साइन्टिफिक कमिटीबाट प्राप्त सुझाबको आधारमा सन् २०१५ को भूकम्पबाट भएको क्षतिको पुनः स्थापना कार्य सम्पन्न गर्दै लैजाने प्रतिबद्धता नेपालले जनाएको छ ।

त्यस्तै लुम्बिनी विश्व सम्पदा स्थलका लागि २०२५ को मनिटरिङ कमिटीले पेस गरेको सुझावहरूसमेतका आधारमा लुम्बिनी विश्व सम्पदा स्थल र बृहत्तर लुम्बिनी क्षेत्रको संरक्षण र व्यवस्थानको कार्यलाई निरन्तरता दिने गरी पक्ष राष्ट्रको नाममा निर्णयसहित समितिको छुट्टै बैठक भएको थियो ।

बैठकले यो वर्षका लागि खतराको सूचीमा नराखी सुधार गर्ने अवसर दिएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, विभागमा महानिर्देशक प्रधानाङ्गसहितको नेपाली टोली सहभागी भएको थियो ।

नेपाल सरकारबाट भए गरेका कार्यहरूको मूल्याङ्कन गर्दै लुम्बिनी विश्व सम्पदा स्थललाई विश्व सम्पदाको खतराको सूचीमा राख्न सक्ने पूर्वनिर्णय हाललाई स्थगित गरेको विभागका महानिर्देशक प्रधानाङ्गले भन्नुभयो ।

विज्ञ टोलीले मुख्य मन्दिरका मार्करस्टोन र पुरातात्विक संरचना भएको मुख्य मायादेवी मन्दिरभित्र पानी रसाउने र छतबाट पानी चुहिने समस्या तत्काल समाधान गर्नुपर्ने सुझाव दिएका थिए । सबै विषयमा छलफलपछि लुम्बिनी क्षेत्रमा एक वर्षमा थुप्रै सुधारका काम भएको उल्लेख गर्दै खतराको सूचीबाट हटाएको हो ।

वर्षाअघि र वर्षापछि पनि जमिनबाट पानी रसाएर पानी भरिने समस्या बढदै गएको, चिसो र ओसको कारण बुद्ध जन्मसँगसम्बन्धी मूर्ति र मार्कर स्टोनमा हुनसक्ने क्षतिलाई रोक्न सुझाब दिएको थियो । अध्ययनको क्रममा टोलीले पानी परेर मन्दिरको भित्री भाग रसाएर लेउ र ढुसी लाग्ने गरेको पाइएको छ । युनेस्कोको विज्ञ र प्राविधिक टोलीले मायादेवी मन्दिर भत्काएर नयाँ संरचना बनाउने धारणासमेत राखेका थिए ।
नेपालले पटकपटक सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका कारण रोकिएको छ ।

नेपाल मायादेवी मन्दिरलाई भत्काउने भन्दा पछि उचित तरिकाले संरक्षण गर्ने पक्षमा छ । विज्ञ टोलीले मन्दिरबाहेक अशोक स्तम्भको भिजिटर व्यवस्थापनको सम्बन्धमा तत्काल सुधार गर्न निर्देशन दिएको थिया । केहीबाहेक सबै सुधार भइसकेको छ । सन् २०२४ मा जुलाई मा सम्पन्न बैठकले लुम्बिनी क्षेत्रलाई एक वर्षका लागि खतराको सूचीमा राख्नबाट जोगाएको छ ।