खोटाङ।
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा दर्शनार्थीको भीड लागेको छ । खोटाङस्थित त्रिधार्मिकस्थल हलेसीमा साउनको तेश्रो सोमबार अर्थात बोलबमको अवसरमा दर्शनार्थीको भीड लागेको हो ।
साउनको गत सोमबारहरु जस्तै तेश्रो सोमबार पनि बिहानैदेखि दर्शनार्थी तथा भक्तजनहरुको घुइंचो लागेको हलेसी मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । हलेसी दर्शन गर्ने तथा उक्त क्षेत्रको अवलोकन गर्ने पर्यटकहरुको संख्या बर्षेनी बढ्दो रहेकोे छ ।
२०८२ असारदेखि २०८३ जेठ मसान्तसम्म २ लाख ३० हजार ३ सय ५० जनाले हलेसी दर्शन तथा अवलोकन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले उल्लेख गर्नुभएको छ । जसमध्ये २२ हजार ६ सय ४४ जना बिदेशी पर्यटक रहेको तथ्याङ्क रहेको छ । हालसम्म सबै भन्दा धेरै २०८२ साउन १२ गते लागेको बोलबम मेलामा एकै दिन हलेसीमा १४ हजार ७ सय ४२ जना दर्शनार्थीले हलेसीको दर्शन गरेका थिए ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् । धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, तीज, बोलबम, उधौली/उभौली लगायत चाडपर्वमा ठूलो मेला लाग्ने गरेको छ । अन्य समयमा पनि प्राय दैनिकरुपमा दर्शनार्थीहरु हलेसी मन्दिरको दर्शन गर्न तथा अवलोकन गर्न आउने गरेका छन् । नेपालका प्राय सबै जिल्लासँगै भारत, चिन, बंगलादेश, भुटान, श्रीलंका, भियतनाम लगायतका देशबाट पर्यटकहरु हलेसीमा आउने गरेका छन् ।











प्रतिक्रिया