काठमाडौं।
खेलकुदको दुनियाँमा ट्रफी र उपाधिहरू त धेरैले जितेका छन्, तर इतिहासमा अमर ती व्यक्तिहरू मात्र हुन्छन् जसले आफ्नो सफलतालाई समाजको रूपान्तरणको औजार बनाउँछन् । सेनेगलका महान् फुटबलर साडियो माने केवल एक विश्वस्तरीय खेलाडी मात्र होइनन्, उनी आधुनिक युगका ती दुर्लभ नायक हुन् जसले आफ्नो पसिना र कमाएको धनलाई व्यक्तिगत विलासितामा होइन, आफ्नै जन्मभूमि बाम्बालीको कायापलट गर्न समर्पित गरे । खाली खुट्टा धुलो उडाउँदै फुटबल खेल्ने एउटा गरिब बालकदेखि विश्व फुटबलका शीर्ष नायक र एक साँचो मानवतावादी बन्नसम्मको मानेको यो यात्रा लाखौँ युवाहरूका लागि प्रेरणाको अजस्र स्रोत हो ।
सेनेगलको राजधानी डाकारबाट करिब चार सय किलोमिटर टाढा अवस्थित बाम्बाली एउटा सानो, पिछडिएको र पूर्ण रूपमा कृषिमा आश्रित गाउँ थियो । जहाँ न पक्की बाटो थियो, न त बिजुली र अस्पतालको सुविधा । त्यही गाउँका एक स्थानीय इमाम (धर्मगुरु) को साधारण परिवारमा सन् १९९२ मा मानेको जन्म भएको थियो । उनको बाल्यकाल असाध्यै कष्टकर र संघर्षपूर्ण थियो । सात वर्षको कलिलो उमेरमा जब उनले आफ्ना पिता गुमाए, तब उनको परिवारमा आर्थिक संकटको पहाडै खस्यो । बिहानदेखि बेलुकासम्म खेतमा खटिएर काम गर्दा पनि परिवारको पेटभरि अन्न नपुग्ने त्यो समय मानेका लागि अत्यन्त मर्मस्पर्शी थियो । खेल्नका लागि फुटबल किन्न पैसा नहुँदा उनी पुराना कपडा र प्लास्टिकका पोकोलाई डोरीले बाँधेर त्यसैबाट फुटबल खेल्दै आफ्नो खेलप्रतिको तिर्खा मेटाउँथे । गाउँका मानिसहरू उनलाई सम्झाउँदै भन्थे,‘फुटबल खेलेर पेट भरिँदैन, खेतीपातीमै ध्यान देऊ ।’ तर, मानेको बाल्यमस्तिष्कमा भने अर्कै अदम्य सपना कोरिसकेको थियो ।
मानेको जीवनमा दुई वटा यस्ता पीडादायी घटना घटे जसले उनको जीवनको दिशा सधैंको लागि बदलियो । पहिलो, समयमा उचित चिकित्सा उपचार नपाउँदा उनका पिताको असामयिक निधन भयो । दोस्रो, गाउँमा एउटा पनि प्रसूति गृह वा अस्पताल नभएका कारण उनकी कान्छी बहिनीलाई घरमै जन्म दिनुपरेको थियो, जसले परिवारलाई ठूलो शारीरिक र मानसिक सास्ती दियो । यी गहिरा घाउहरूले बाल्यकालमै मानेको मनमा अमिट छाप छोडे । आमाको इच्छा र सामाजिक दबाबलाई बेवास्ता गर्दै १५ वर्षको उमेरमा उनी एक साथीको साथमा कसैलाई थाहा नदिई राजधानी डाकारतिर भागे । जहाँबाट उनको व्यावसायिक फुटबलको रोमाञ्चक यात्रा सुरु भयो ।

डाकारको कठिन संघर्षपछि मानेको प्रतिभाले युरोपका फुटबल स्काउटहरूको ध्यान खिच्न सफल भयो । फ्रान्स, अस्ट्रिया र त्यसपछि इङ्गल्यान्डको साउथह्याम्पटन हुँदै उनी विश्वप्रसिद्ध क्लब लिभरपुलमा प्रवेश गरे । लिभरपुलमा उनले प्रशिक्षक योर्गेन क्लोपको मार्गदर्शनमा अभूतपूर्व सफलता हात पारे । उनले प्रिमियर लिग, यूईएफए च्याम्पियन्स लिग र क्लब विश्वकपजस्ता विश्वका प्रतिष्ठित उपाधिहरू चुम्दै आफूलाई विश्व फुटबलका सर्वोच्च पङ्क्तिमा उभ्याए । त्यसपछि जर्मनीको दिग्गज क्लब बायर्न म्युनिक हुँदै साउदी अरेबियाको अल–नासरसम्मको यात्रा तय गर्दा पनि उनको खेलप्रतिको निष्ठामा कुनै कमी आएन । सन् २०२२ मा उनले आफ्नो राष्ट्र सेनेगललाई पहिलो पटक ऐतिहासिक ‘अफ्रिका कप अफ नेसन्स’ को उपाधि दिलाउँदा उनी सिंगो अफ्रिकाकै राष्ट्रिय नायक बने ।
सफलताको शिखरमा पुगेपछि अधिकांश खेलाडीहरू महँगा कार, निजी जेट, विलासी महल र हीरा जडित घडीहरूमा आफ्नो सम्पत्ति खर्चन थाल्छन् । तर, मानेको मन भने सधैं आफ्नो गाउँ बाम्बालीकै माटोमा अल्झिरह्यो । जब एक पत्रकारले उनलाई सोधे कि उनी किन फेरारी कार वा महँगा विलासी वस्तुहरू किनिरहेका छैनन्, तब मानेले दिएको जवाफ संसारभर भाइरल भयो र उनको महानता प्रष्टायो । उनले भनेका थिए—‘मलाई १० वटा फेरारी, २० वटा हीरा जडित घडी वा दुईवटा निजी विमान किन चाहियो र ? मैले पनि भोकमरी भोगेको छु, खेतमा पसिना बगाएको छु । आज फुटबलबाट कमाएको धनले मेरा जनतालाई राहत दिन सक्छु भने म किन नदिने ? यही सादा जीवन र उच्च विचारको दर्शनले उनलाई अरूभन्दा पूर्ण रूपमा भिन्न बनायो ।
मानेले केवल मौखिक सहानुभूतिमात्र दिएनन्, उनले आफ्नो आम्दानीको एक विशाल हिस्सा बाम्बाली र त्यस आसपासका ३४ वटा गाउँहरूको मुहार फेर्न खर्चिए । उनले करिब साढे चार लाख पाउन्डभन्दा बढीको लागतमा गाउँमै एउटा अत्याधुनिक अस्पताल निर्माण गरे । जसमा आपतकालीन सेवा, प्रसूति सेवा र दन्त चिकित्सा कक्षहरू उपलब्ध छन् । यसले गर्दा आज बाम्बालीबासीले उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सधैका लागि अन्त्य भएको छ । त्यस्तै, बालबालिकाको भविष्य उज्ज्वल बनाउन उनले लाखौँ युरो खर्च गरेर आधुनिक विद्यालय निर्माण गरे । त्यति मात्र होइन, विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार र निःशुल्क ल्यापटप वितरणको व्यवस्था मिलाए । गाउँका हरेक घरपरिवारलाई मासिक ७० युरोको प्रत्यक्ष आर्थिक सहयोग प्रदान गर्दै उनले गरिबीको रेखामुनि रहेका परिवारको चुल्हो बाल्ने जिम्मा आफैँले बोकेका छन् ।
शिक्षा र स्वास्थ्यभन्दा अगाडि बढेर मानेले बाम्बालीलाई आधुनिक विश्वसँग जोड्न कुनै कसर बाँकी राखेनन् । उनले गाउँमा फोरजी इन्टरनेट सेवाको विस्तार गरे । जसले गर्दा विश्वका जुनसुकै कुनासँग गाउँको प्रविधिमैत्री सम्बन्ध जोडिन पुग्यो । यसबाहेक, स्थानीय बासिन्दाहरूको सुविधाका लागि पेट्रोल पम्प, हुलाक कार्यालय र एउटा भव्य मस्जिदको निर्माण गरिदिए । जसले गर्दा एक समयको अति पिछडिएको र गुमनाम गाउँ बाम्बाली आज सम्पूर्ण पूर्वाधारले सुसज्जित एउटा आधुनिक र जीवन्त सहरमा रूपान्तरण भएको छ । यी सम्पूर्ण मानवतावादी कार्यहरूको उच्च कदर गर्दै उनलाई विश्व प्रतिष्ठित ‘सोक्रेटस अवार्ड’ बाट सम्मानित गरियो, जुन खेलकुदसँगै सामाजिक र मानवीय क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिन्छ ।
आज साडियो माने केवल खेल मैदानका नायकमात्र होइनन्, उनी विश्वभरका करोडौँ युवाहरूका लागि आशाका जीवित प्रतीक हुन् । उनले यो प्रमाणित गरिदिए कि सफलताको वास्तविक मापन आफूले कतिवटा ट्रफी वा सुनका पदकहरू जितेको छ भन्ने कुराले होइन, आफूले आफ्नो यात्राको क्रममा कति जना मानिसको जीवन उज्यालो बनाउन सक्यो भन्ने कुराले निर्धारण गर्छ । बाम्बालीको त्यो धुलोमा खाली खुट्टा कुद्ने सानो बालक आज करोडौँ मानिसको मुहारमा हाँसो ल्याउने मसीहा बनेका छन् । जब संसारको कुनै कुनामा बसेको कुनै गरिब बालक अभाव र असफलतासँग जुधिरहेको हुन्छ, उसले मानेको कथा सम्झिन्छ र गर्वका साथ भन्छ—‘यदि बाम्बालीको त्यो साधारण केटोले सारा संसार जित्न र आफ्ना मानिसलाई बचाउन सक्छ भने, म पनि निश्चित रूपमा सक्छु ।’











प्रतिक्रिया