–राष्ट्रिय सुरक्षा परिषद् सक्रिय
–संसद्देखि सडकसम्म बहस
–सामाजिक सञ्जाल, अवसर पनि जोखिम पनि
काठमाडौँ ।
सुनसरीको देवानगञ्जमा सुरु भएको साम्प्रदायिक तनाव केही दिनयता मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिन थालेपछि राज्य संयन्त्र उच्च सतर्कतामा पुगेको छ ।
सुनसरीपछि सिराहा, सप्तरी, महोत्तरी, धनुषालगायत जिल्लामा तनावका घटनाले स्थानीय प्रशासनलाई कफ्र्यु, निषेधाज्ञा र व्यापक सुरक्षा परिचालन गर्न बाध्य बनाएको छ । पछिल्ला घटनाक्रमले केवल स्थानीय सुरक्षा चुनौती मात्र होइन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।
पछिल्लो घटनाक्रमअनुसार धनुषाको जनकपुरधाममा दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सहरी क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । यसैबीच जनकपुरधामको दशरथनगर क्षेत्रमा तीन जना हिन्दु समुदायका बालकमाथि आक्रमण भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी सार्वजनिक भएपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । घटनाको वास्तविक कारण र संलग्न पक्षबारे अनुसन्धान जारी रहेको भन्दै प्रशासनले आधिकारिक निष्कर्ष नआउँदासम्म अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।
उता, सुनसरीको देवानगञ्ज घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएपछि त्यहाँको वातावरण पुनः तनावपूर्ण बनेको छ । सुरक्षा निकायले संवेदनशील स्थानमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ भने सम्भावित हिंसात्मक गतिविधि रोक्न निगरानी बढाइएको छ ।
बढ्दो तनावबीच प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४३ औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच समन्वय अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकमा सुनसरी घटनादेखि पछिल्ला सबै घटनाक्रमको समीक्षा गरिएको छ । परिषद्का अनुसार राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट प्रभावित क्षेत्रमा अवस्था सामान्यीकरण गर्ने प्रयास जारी छ ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा समन्वयलाई अझ मजबुत बनाइने, समुदायस्तरमा संवाद बढाइने तथा सामाजिक सद्भावलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ । साथै विपद् व्यवस्थापन, खोज तथा उद्धारमा समेत अन्तरनिकाय समन्वय सुदृढ बनाउने निर्णय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मुख्यसचिव गोविन्द कार्की तथा प्रधानसेनापति अशोक सिग्देल सहभागी थिए ।
प्रतिनिधिसभाको बैठकमा पनि सुनसरीको घटनाले प्रमुख स्थान पायो । विपक्षी सांसदहरूले सरकारको सुरक्षा रणनीतिमाथि प्रश्न उठाउँदै प्रारम्भिक चरणमै प्रभावकारी हस्तक्षेप हुन नसक्दा तनाव अन्य जिल्लासम्म फैलिएको आरोप लगाए । उनीहरूले दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउन, पीडितलाई न्याय सुनिश्चित गर्न तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिमाथि कठोर कारबाही गर्न माग गरेका छन् ।
सरकारले भने घटनालाई कुनै पनि राजनीतिक वा धार्मिक रंग दिन नहुने स्पष्ट सन्देश दिएको छ । गृह प्रशासनले सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक सामग्री साझा नगर्न तथा कानुनी प्रक्रिया र आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेको छ ।
सुरक्षा अधिकारीहरूका अनुसार पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत प्रमाणित नभएका भिडियो, पुराना दृश्य र भ्रामक सामग्री नयाँ घटनाका रूपमा प्रचार गरिँदा तनाव झन् बढेको देखिएको छ । केही सामग्री नेपालकै नभई अन्य देशका पुराना भिडियोसमेत रहेको प्रारम्भिक विश्लेषणले देखाएको छ ।
सञ्चार तथा साइबर सुरक्षा विज्ञहरूका अनुसार कुनै पनि संवेदनशील घटनामा गलत सूचना वास्तविक घटनाभन्दा बढी खतरनाक हुन सक्छ । यसले समुदायबीच अविश्वास बढाउने, भीडलाई उत्तेजित गर्ने र अनुसन्धान प्रक्रियालाई समेत प्रभावित पार्ने जोखिम रहन्छ ।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । विगतमा पनि विभिन्न स्थानमा साम्प्रदायिक तनाव देखिए तापनि अधिकांश घटनामा स्थानीय समुदाय, धार्मिक अगुवा, नागरिक समाज, राजनीतिक दल र सुरक्षा निकायको संयुक्त पहलबाट स्थिति नियन्त्रणमा आएको थियो ।
विशेषज्ञहरूका अनुसार प्रत्येक साम्प्रदायिक तनावको सुरुआत कुनै एक घटनाबाट भए पनि त्यसलाई फैलाउने मुख्य कारण अफवाह, राजनीतिक स्वार्थ, सामाजिक सञ्जालको दुरुपयोग, कमजोर संवाद र कानुनी प्रक्रियामा ढिलाइ हुने गरेको देखिन्छ । त्यसैले दीर्घकालीन समाधानका लागि सुरक्षा मात्र पर्याप्त हुँदैन; सामाजिक विश्वास पुनःस्थापना पनि उत्तिकै आवश्यक हुन्छ ।
अपराधशास्त्री डा. अजय शर्माका अनुसार राज्यले यस्ता घटनालाई केवल सुरक्षा चुनौतीका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । उहाँका अनुसार, ‘दोषीलाई कानुनअनुसार कारबाही हुनु अनिवार्य छ । तर कुनै व्यक्तिको अपराधलाई सम्पूर्ण समुदायसँग जोड्ने प्रवृत्ति झन् खतरनाक हुन्छ । यदि प्रारम्भिक चरणमै संवाद, निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित गरिएन भने सामान्य देखिने विवादले ठूलो सामाजिक संकटको रूप लिन सक्छ ।’
उहाँले थप्नुभयो– ‘राजनीतिक नेतृत्व, धार्मिक अगुवा, स्थानीय सरकार, सञ्चारमाध्यम र नागरिक समाज सबैले संयमित भूमिका निर्वाह गर्नुपर्छ । अहिले सबैभन्दा आवश्यक कुरा समुदायहरूबीच विश्वास जोगाउनु हो ।’
नेपालको संविधानले सबै धर्मप्रति समान सम्मान र धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यही संवैधानिक भावना नेपाली समाजको बलियो आधार पनि हो । हिन्दु, मुस्लिम, बौद्ध, किराँत, इसाईलगायत विभिन्न समुदाय शताब्दीयौँदेखि एउटै समाजमा सहअस्तित्वका साथ बस्दै आएका छन् ।
समाजशास्त्रीहरूका अनुसार कुनै एक स्थानमा भएको आपराधिक वा हिंसात्मक घटनालाई सम्पूर्ण धर्म वा समुदायसँग जोड्नु सामाजिक रूपमा अत्यन्त हानिकारक हुन्छ । यस्तो प्रवृत्तिले निर्दोष नागरिकलाई समेत असुरक्षित बनाउने र विभाजनलाई गहिरो बनाउने जोखिम हुन्छ ।
राज्यको पहिलो दायित्व शान्ति–सुरक्षा कायम गर्नु, दोषीलाई निष्पक्ष अनुसन्धानपछि कानुनी दायरामा ल्याउनु र पीडितलाई न्याय दिलाउनु र समुदायबीचको विश्वास पुनःस्थापना गर्नु पनि हो । स्थानीय तह, विद्यालय, धार्मिक संस्था, नागरिक समाज र सञ्चारमाध्यमले संयुक्त रूपमा सद्भाव, सहिष्णुता र संवादलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।
नागरिकको भूमिकासमेत उत्तिकै महत्वपूर्ण छ । अपुष्ट सूचना साझा नगर्ने, अफवाह नफैलाउने, कानुन हातमा नलिने र सुरक्षाकर्मीलाई सहयोग गर्ने संस्कारले मात्र समाजलाई थप विभाजित हुनबाट जोगाउन सक्छ ।
पछिल्ला घटनाक्रमले नेपाललाई फेरि एकपटक संवेदनशील मोडमा उभ्याएको छ । अहिले आवश्यक कुरा कुनै समुदायलाई दोषारोपण गर्नु होइन, वास्तविक दोषी पहिचान गरेर कानुनी कारबाही गर्नु हो । त्यससँगै निर्दोष नागरिकको सुरक्षा, पीडितलाई न्याय, समुदायबीच विश्वासको पुनर्निर्माण र सामाजिक सद्भावको संरक्षणलाई समान प्राथमिकता दिनुपर्ने देखिन्छ ।
सुरक्षा निकायले अवस्था नियन्त्रणमा रहेको जनाएको भए पनि आगामी केही दिन अझै संवेदनशील मानिएका छन् । त्यसैले सबै राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणले संयमता अपनाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।
नेपालको शक्ति यसको विविधतामा छ । यही विविधतालाई विभाजनको आधार होइन, सहअस्तित्वको आधार बनाउन सकियो भने अहिलेको संकट पनि पार गर्न सकिन्छ । हिंसाले कसैको हित गर्दैन; न्याय, संवाद, सहिष्णुता र मेलमिलापले मात्र दिगो शान्ति स्थापना गर्न सक्छ । अहिले देशलाई यही सन्देश र यही व्यवहारको आवश्यकता छ ।

पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश
देशका विभिन्न स्थानमा साम्प्रदायिक तनाव देखिएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रवीर विक्रम शाहदेवले नेपाली समाजमा आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैलाई आग्रह गर्दै सन्देश जारी गर्नुभएको छ ।
निर्मल निवासबाट बिहीवार जारी सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै नेपाली समाजको सबैभन्दा ठूलो विशेषता नै आपसी मेलमिलाप र सहअस्तित्व रहेको बताउनुभएको छ ।
उहाँले नेपालीहरू नेपाल निर्माणको प्रारम्भदेखि नै एकअर्काप्रति माया, प्रेम, मेलमिलाप र खुसी साट्दै आएको उल्लेख गर्दै यही विविधताबीचको एकताले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिलाएको बताउनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव विभिन्न क्षेत्रमा फैलिँदै गएको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।
उहाँले समाजका सबै समुदायबीच सद्भाव र सामञ्जस्य कायम रहेको देशका रूपमा परिचित नेपालमा यस्ता घटनाले चिन्ता बढाएको भन्दै यसलाई नेपाली समाजको मौलिक मूल्य र मान्यताविपरीतको अवस्था बताउनुभएको छ ।
पूर्वराजाले कुनै पनि स्थानमा बसोबास गर्ने नेपालीबीच आपसी विश्वास र सहकार्य कायम रहनुपर्नेमा जोड दिँदै अहिले सबैभन्दा आवश्यक कुरा राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षण रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिद्वारा राष्ट्रिय एकता जोगाउन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा जातीय सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले बिहीवार जारी गरेको अपिलमा सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको मौलिक पहिचान र गौरवपूर्ण परम्परा भएको उल्लेख गर्नुभएको छ ।
उहाँले कुनै पनि परिस्थितिमा राष्ट्रिय एकता कमजोर हुन नदिन सबै राजनीतिक दल, नागरिक समाज, समुदायका अगुवा तथा सम्पूर्ण नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।
अपिलमा राष्ट्रपति पौडेलले भन्नुभएको छ– ‘सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा हो । यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था स्थापना गरी राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्दछु । ’
राष्ट्रपतिले सत्यतथ्य नबुझी अफवाह फैलाउने, घृणा र विभाजन निम्त्याउने गतिविधिबाट टाढा रहन तथा कानुनको पालना गर्दै शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न पनि सबैसँग अनुरोध गर्नुभएको छ ।

राष्ट्रहित र शान्तिका लागि एक हुन ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि विकसित तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाउनुभएको छ । बिहीवार जारी विज्ञप्तिमार्फत उहाँले संवेदनशील अवस्थामा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगप्रति आपत्ति जनाउँदै हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादमार्फत समाधान खोज्न आग्रह गर्नुभएको छ ।
ओलीले मुलुकलाई अस्थिर बनाउने तथा जनतालाई आपसमा विभाजित गरी अवाञ्छित उद्देश्य पूरा गर्ने प्रयास हुन सक्ने भन्दै सबै नागरिक, राजनीतिक दल र सरोकारवालालाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।
उहाँले नागरिकको जीउधनको सुरक्षा गर्नु, शान्ति कायम गर्नु र संवादमार्फत समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भए पनि सरकारले उदासीनता, मौनता र अत्यधिक बल प्रयोगको नीति अपनाएको आरोप लगाउनुभयो ।











प्रतिक्रिया