देशभर मनसुनी वायुको प्रभाव, केही ठाउँमा भारी वर्षा हुने


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।