सुनसरीको देवानगञ्ज घटनाका पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति


काठमाडौँ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिनेछ।

यस्तै, प्रत्येक परिवारका एक–एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने, छानबिन समितिका सिफारिस कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। दुवै मृतकको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने जनाइएको छ।