“क्यान्सर जितेकाहरूलाई लुक्न होइन, चम्कन दिऔँ” : चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो शनिबार हुँदै


काठमाडौं।

“क्यान्सर जितेकाहरूलाई लुक्न होइन, चम्कन दिऔँ” भन्ने नारासहित चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। उपचारको कठिन यात्रा पार गरी क्यान्सरलाई पराजित गरेर सामान्य जीवनमा फर्किएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई समाजसामु आत्मविश्वासका साथ उभ्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार र्‍याम्प शोले क्यान्सरबाट निको भएका व्यक्तिहरूलाई समाजमा सम्मानपूर्वक प्रस्तुत गर्दै क्यान्सर रोगप्रतिको नकारात्मक सोच हटाउने र समयमै उपचार गरे क्यान्सर जित्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष तथा “उपचारका लागि सहयोगी हातहरू”की अध्यक्ष स्वरूपा श्रेष्ठले क्यान्सर जितेका धेरै व्यक्ति समाजको दृष्टिकोणका कारण खुलेर आउन नसकेको बताउनुभयो। उपचारपछि कपाल झर्नु, शरीरमा शल्यक्रियाका दाग देखिनुजस्ता कारणले उनीहरू आफूलाई लुकाएर राख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले उनीहरूको आत्मबल बढाउन र्‍याम्प वाकको अवधारणा अघि सारेको बताउनुभयो।

उहाँका अनुसार सन् २०१९ मा नेपालमै पहिलो पटक क्यान्सर सर्भाइभर र्‍याम्प शो आयोजना गरिएको थियो। सुरुमा यस्तो कार्यक्रम सम्भव हुन्छ भन्नेमा धेरैले विश्वास नगरे पनि अहिले चौथो संस्करणसम्म आइपुग्दा १०० भन्दा बढी क्यान्सर सर्भाइभरले सहभागी हुन रुचि देखाएका छन्।

“समाजले क्यान्सरका डरलाग्दा कथा मात्रै सुनेको छ। त्यही समाजका अगाडि क्यान्सर निको हुने रोग हो भन्ने सन्देश दिन क्यान्सर जितेकाहरूलाई गर्वका साथ उभ्याउन आवश्यक छ,” श्रेष्ठले भन्नुभयो।

नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरका डा. सचिन शाक्यले बदलिँदो खानपान र जीवनशैलीका कारण नेपालमा क्यान्सरका बिरामी बढ्दै गएको बताउँदै समयमै परीक्षण र उपचार गर्न सके क्यान्सरलाई पराजित गरेर सामान्य जीवन बिताउन सकिने बताउनुभयो। र्‍याम्प शोमा क्यान्सरलाई जितेर विभिन्न पेशा र व्यवसायमा सक्रिय जीवन बिताइरहेका योद्धाहरू सहभागी हुने उहाँले जानकारी दिनुभयो।

मिसेस नेपाल युनिभर्स–२०२३ डली गुरुङले आफू पनि क्यान्सर सर्भाइभर भएको उल्लेख गर्दै समाजसेवा तथा फेसन र मोडलिङमार्फत अन्य क्यान्सर सर्भाइभरलाई प्रेरणा दिने प्रयास गरिरहेको बताउनुभयो।

कार्यक्रमका कोरियोग्राफर विशाल गुरुङले फेसन र कोरियोग्राफीले पनि क्यान्सर विजेताको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुभव आफूले प्राप्त गरेको बताउँदै सहभागीहरू उत्साहका साथ र्‍याम्पका लागि प्रशिक्षण लिइरहेको जानकारी दिनुभयो।

यसैगरी बाल क्यान्सर बिशेषज्ञ डा. अन्जली पण्डितका अनुसार यस वर्षको चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोमा तीन वर्षदेखि ८५ वर्षसम्मका १०० भन्दा बढी क्यान्सर सर्भाइभरले सहभागिता जनाउन रुचि देखाएका छन्।

नेपालमा हरेक वर्ष करिब २२ हजार नयाँ क्यान्सरका बिरामी थपिने अनुमान गरिएको छ। यस्तो अवस्थामा क्यान्सर लागेपछि समयमै उपचार गराए रोग निको हुन सक्छ भन्ने जनचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले जनाएको छ।

अस्पतालका अनुसार नेपालमै क्यान्सरको शल्यक्रिया, केमोथेरापी, रेडिएसन थेरापी, इम्युनोथेरापी, लक्षित (टार्गेटेड) उपचार, पुनर्स्थापना तथा प्यालिएटिभ केयरलगायतका आधुनिक उपचार सेवा उपलब्ध छन्।