काठमाडौं।
अभावको चिसो अँध्यारोलाई चिर्दै सफलताको चम्किलो क्षितिजसम्म पुग्ने साहसी मानिसहरू संसारमा विरलै भेटिन्छन् । तिनै सीमित र प्रेरक पात्रहरूमध्ये नेपाली खेलकुदको इतिहासमा स्वर्णिम अक्षरले कोरिएको एउटा नाम हो, जीवन गिरी । कुनै समय शारीरिक शक्ति र बलिष्ठताको मापन परम्परागत भारोत्तोलनको साँघुरो घेराभित्र गुम्सिएर रहेको अवस्थामा, पछिल्लो समय पावरलिफ्टिङ र स्ट्रेन्थ लिफ्टिङजस्ता अत्याधुनिक विधाहरूको आगमनले नेपाली खेलकुदको दायरालाई व्यापक र व्यवस्थित बनाएको छ । खेल क्षेत्रको यसै रूपान्तरणकारी यात्रामा शारीरिक सुगठन (बडीबिल्डिङ) र स्ट्रेन्थ लिफ्टिङका माध्यमबाट नेपालको नाम विश्वमानचित्रमा गौरवका साथ स्थापित गर्ने एक अद्वितीय शिखर व्यक्तित्वका रूपमा गिरी परिचित छन् । बुद्ध जन्मस्थल कपिलवस्तुको पावन माटोमा जन्मेर संघर्षका तीखा काँडाहरू पन्छाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको रातोनिलो र चन्द्रसूर्य अंकित झण्डा फहराउने गिरीको अविरल यात्रा केवल एउटा खेलाडीको व्यक्तिगत सफलताको कथामात्र होइन, दृढ इच्छाशक्ति र अहोरात्रको पसिनाले असम्भव मानिएका सपनाहरूलाई पनि साकार पार्न सकिन्छ भन्ने जीवन्त उदाहरण पनि हो । अभावको भुङ्ग्रोबाट सुरु भएर विश्वप्रसिद्ध बन्नेसम्मको उनको यो स्वर्णिम यात्रा भावी पुस्ताका लागि एउटा निरन्तर बगिरहने प्रेरणाको स्रोत बन्नेछ ।

गिरीको खेलकुदप्रतिको यो अद्भुत यात्राको पहिलो बीजारोपण वि.सं. २०४५ सालमा मार्सल आट्र्सअन्तर्गत कराते खेलको प्रशिक्षणबाट भएको थियो । करातेको नियमित अभ्यासकै क्रममा साथीहरूसँगै भारोत्तोलनतर्फ उनको ध्यान तानियो । जहाँ सुरुवाती व्यायामबाटै शरीरमा देखिन थालेको सकारात्मक रूपान्तरण र अभूतपूर्व ऊर्जाले उनको मनमा शारीरिक सुगठनप्रति अगाध अभिरुचि जगायो । त्यसपछि बिहान र साँझ निरन्तर व्यायाममा लीन हुनु गिरीको दैनिकी नै बन्यो । त्यससमय आजको जस्तो आधुनिक जिम क्लबहरू र स्रोत–साधनले युक्त थिएनन् । त्यसमाथि उनको पारिवारिक आर्थिक अवस्था पनि बलियो थिएन । व्यावसायिक उपकरणहरू किनेर अभ्यास गर्नु उनका लागि असम्भवजस्तै थियो । तर, अभावले गिरीको भित्री संकल्पलाई कहिल्यै रोक्न सकेन । उनले सुरुमा एउटा साधारण बुलवर्कर र डम्बेल किनेर आफ्नै घरको साँघुरो घेराभित्र अभ्यास थाले । साधनको अभावलाई आफ्नो पसिनाले परिपूर्ति गर्दै उनले गाउँमा आठ सय रुपियाँ जोहो गरेर पुरानो क्लबबाट कवाडी बन्न लागेका वेट प्लेटहरू र एउटा फलामको बार किने । त्यो सामग्री अपर्याप्त भएपछि बोरिङको कडा पाइपबाट आफैँले मजबुत बार तयार पारे । अनि काठको साधारण कुर्सी खोजेर आफ्नै घरको कुनामा प्रारम्भिक जिमको रूपरेखा कोरे । घरेलु प्रविधि र सीमित साधनबाट सुरु गरिएको यो साधना बिस्तारै गाउँका अन्य युवाहरूका लागि पनि प्रेरणादायी केन्द्र बन्यो । वास्तवमा यहीबाट जीवन गिरीको ऐतिहासिक खेलकुद यात्राको शिलान्यास भएको थियो ।
वि.सं. २०५१ सालमा भैरहवामा आयोजित ‘दोस्रो मिस्टर लुम्बिनी बडीबिल्डिङ च्याम्पियनसिप’ गिरीको खेल जीवनका लागि एउटा अभूतपूर्व मोड बनेर आयो । शारीरिक सुगठनमा अनिवार्य मानिने ‘पोजिङ’ को प्राविधिक ज्ञानविना नै केवल प्राकृतिक रूपमा ढालिएको सुगठित शरीर र कठोर आत्मविश्वासका भरमा उनी मञ्चमा ओर्लिए । अचम्म त के भयो भने, आफ्नो पहिलो सहभागितामै उनी त्यो प्रतियोगिताको ‘ओभरअल च्याम्पियन’ बन्न सफल भए । यसै जितको उत्साहका साथ सोही वर्ष राष्ट्रिय च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गर्दै वि.सं. २०५२ मा प्रतिष्ठित ‘मिस्टर हिमालय बडीबिल्डिङ च्याम्पियनसिप’ मा प्रथम स्थान हासिल गरेर उनले आफूलाई राष्ट्रिय स्तरमा स्थापित गरे । खेलाडीका रूपमा सफलता चुम्दै गर्दा उनले मोफसलका युवाहरूलाई पनि खेलको मूलधारमा ल्याउन तौलिहवामा व्यायामशाला स्थापना गरे । उनले २०५२ सालमा तौलिहवामा ‘मिस्टर लुम्बिनी’ र २०५४ सालमा कृष्णनगरमा ‘मिस्टर पश्चिमाञ्चल’ जस्ता ठूला क्षेत्रीय प्रतियोगिताहरू आयोजना गरेर मोफसलमा खेलकुदको नयाँ तरङ्ग ल्याएका थिए ।

नेपाली शारीरिक सुगठनको सर्वोच्च मानिने ‘मिस्टर धर्मश्री बडीबिल्डिङ च्याम्पियनसिप’ जित्ने खेलाडीलाई भारतको नासिकमा हुने पहिलो दक्षिण एसियाली प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराइने घोषणा भएपछि गिरीले जीवनकै कठोर प्रशिक्षण सुरु गरेका थिए । नतिजास्वरूप वि.सं. २०५५ (सन् १९९९) मा उनले ‘छैटौँ मिस्टर धर्मश्री’ को ओभरअल च्याम्पियनको ट्रफी जिते । उक्त जितपछि भारतको नासिकमा आयोजित पहिलो ‘साउथ एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ मा भाग लिई काश्य पदक जित्दै उनले नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय पदक भित्र्याउने इतिहास बनाए । कुनै ठूलो सरकारी वा कर्पोरेट प्रायोजनविना, आफ्नै सानो जिम क्लबबाट प्राप्त सीमित आम्दानीका भरमा उनले यो अन्तर्राष्ट्रिय सफलता हात पारेका थिए ।
बडीबिल्डिङमा सफलताको शिखर चढिसकेपछि पनि गिरीको खेलकुदप्रतिको भोक मेटिएन । सन् २०२० मा ‘वल्र्ड पावरलिफ्टिङ च्याम्पियनसिप’ मा नेपाली टोलीको नेतृत्व गर्दै पदक दिलाएका गिरीले सन् २०२१ मा विश्व स्ट्रेन्थ लिफ्टिङ महासंघबाट आधिकारिक पत्र प्राप्त गरी ‘स्ट्रेन्थ लिफ्टिङ’ खेललाई पहिलोपटक नेपालमा भित्र्याए । नेपाल स्ट्रेन्थ लिफ्टिङ फेडेरेसनका संस्थापक महासचिवका रूपमा उनकै नेतृत्वमा बाइसेप कर्ल, ह्याक लिफ्टिङ र इन्क्लाइन बेन्च प्रेसजस्ता स्पर्धाहरू आज नेपालभर लोकप्रिय बनेका छन् । सरकारी ढिलासुस्तीका बावजुद उनले नवौँ राष्ट्रिय खेलकुदमा यसलाई प्रदर्शनी खेलका रूपमा प्रस्तुत गराउनुका साथै र देशभर सांगठनिक संरचना पनि विस्तार गरेका छन । नेतृत्वसँगै मैदानमा ओर्लिएर किर्गिस्तानमा आयोजित नवौं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा रजत पदक जितेबापत लुम्बिनी प्रदेश सरकारबाट उनी सर्वोच्च नागरिक सम्मान ‘लुम्बिनी प्रदेश रत्न’ बाट विभूषित भए । त्यसपछि भारतको हैदरावादमा सम्पन्न दशौं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा अमेरिका र भारतजस्ता देशका बलिया प्रतिस्पर्धीहरूलाई पछि पार्दै स्वर्ण पदक जितेर विश्वमञ्चमा नेपालको राष्ट्रिय गान गुञ्जायमान गराउन उनी सफल भए । काजाकस्तानमा सम्पन्न ११औं वल्र्ड च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेका गिरीलाई सिक्किममा अति प्रतिष्ठित ‘आइरन म्यान अफ नेपाल’ को उपाधिद्वारा विशेष सम्मान गरिएको थियो ।
आज जीवन गिरी केवल एक पूर्वच्याम्पियनमात्र नभएर ‘वल्र्ड स्ट्रेन्थ लिफ्टिङ फेडरेसन’ को कार्यकारी सदस्य तथा मान्यता प्राप्त ‘इन्टरनेसनल जज’ का रूपमा विश्व खेलकुद वृत्तमा क्रियाशील छन् । भारत र बेलायतमा भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिताको प्रमुख अतिथि बनिसकेका उनले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, फ्रान्स, जर्मनी, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायत विश्वका २६ भन्दा बढी मुलुकहरूको भ्रमण गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आतिथ्यता ग्रहन गरिसकेका छन् । तर, यति ठूलो अन्तर्राष्ट्रिय सफलता हासिल गर्दा पनि राज्यस्तरबाट पर्याप्त आर्थिक प्रोत्साहन र कदर नहुनु भने दुःखद् विषय हो । अन्य चर्चित खेलका खेलाडीले व्यापक चर्चा पाउँदा स्ट्रेन्थ लिफ्टिङका खेलाडीहरू खादा र प्रमाणपत्रमै सीमित हुनुपरेको तीतो यथार्थ भए पनि गिरी आफ्नो अभियानबाट डगमगाएका छैनन् । ‘अहिलेसम्म मैले जे पाएँ, आफ्नै मेहनत र पसिनाले पाएँ; राज्यले नहेरे पनि प्रदेश र अन्तर्राष्ट्रिय जगत्ले कदर गरेको छ’–भन्दै उनी नयाँ पुस्ताका खेलाडीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर लडिरहेका छन् ।

अन्तर्राष्ट्रिय ख्याति र विश्वव्यापी अनगिन्ती अनुभव हासिल गरिसक्दा पनि गिरीमा उही सुरुवाती दिनको सादगी र विनम्रता जस्ताको तस्तै छ । व्यावसायिक रूपमा ‘भालु भैरव जिम’ को नामबाट विभिन्न सहरहरूमा आधुनिक जिम क्लबहरू सञ्चालन गरिरहेका गिरी आज पनि हरेक साँझ–बिहान नयाँ पुस्तालाई प्रशिक्षण दिन तल्लीन छन् । उनी गर्वका साथ भन्छन्,–‘संसारमा नाम र सम्मान किनेर पाइँदैन, त्यसका लागि निष्ठापूर्वक पसिना बगाउनुपर्छ । अन्तर्राष्ट्रिय मञ्चमा आफ्नै पसिनाले देशको झण्डा उच्च राख्न पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।’ अनुशासन र समर्पणको बलमा कोरिएको जीवन गिरीको यो खेल यात्रा नेपाली खेलकुद इतिहासको पानामा एउटा प्रेरणादायी दस्तावेज बनेर जीवित रहनेछ ।











प्रतिक्रिया