काठमाडौं।
नीलो र सेतो प्लास्टिकको पोकालाई धागोले गाँसेर बनाइएको जर्सी, जसको पछाडि नीलो मसीले कोरिएको थियो एउटा नाम ‘मेसी’ । सन् २०१६ मा अफगानिस्तानको दुर्गम गज्नी प्रान्तका पाँच वर्षीया बालक मुर्तजा अहमादीको यो तस्बिरले रातारात सम्पूर्ण विश्वको ध्यान तानेको थियो । गरिबी र युद्धको छायामा हुर्किएका मुर्तजाका लागि फुटबल केवल खेलमात्र थिएन, खुसी पाउने आश थियो । जब उनका दाजुले प्लास्टिकको पोकाबाटै भए पनि मेसीको जर्सी बनाइदिए, अनि त्यो केवल एउटा कपडामात्रै रहेन, फुटबलप्रतिको चोखो र असीम मायाको प्रतीक बन्यो ।
सामाजिक सञ्जालमा भाइरल भएको त्यो सादगीले भरिएको तस्बिर स्वयम् लियोनल मेसीसम्म पुग्यो । युनिसेफको पहलमा मेसीले हस्ताक्षर गरेको वास्तविक जर्सी र फुटबल पाएपछि मुर्तजाको खुसीको सीमा रहेन । त्योभन्दा ठूलो चमत्कार तब भयो जब कतारको मैदानमा मुर्तजाले आफ्ना भगवानतुल्य खेलाडीको हात समातेर प्रवेश गरे । मेसीलाई अंकमाल गर्दै बालकले दिएको त्यो निश्चल मुस्कान खेल जगतकै भावुक र प्रेरणादायी क्षणमध्ये एक बन्यो ।
तर, रातारात मिलेको यो विश्वव्यापी प्रसिद्धि मुर्तजा र उनको परिवारका लागि एउटा भयानक अभिशाप बन्न पुग्यो । मानिसहरूले मेसीले उनीहरूलाई ठूलो धनराशि दिएको गलत अनुमान गरे । जसका कारण स्थानीय आपराधिक समूह र छिमेकीहरूको गिद्धे नजर उनीहरूमाथि प¥यो । निरन्तर आउन थालेका फिरौतीका धम्की र अपहरणको डरले गर्दा उनीहरूको शान्त जीवन तितरबितर भयो । ज्यान जोगाउन उनीहरूले गज्नी प्रान्तस्थित आफ्नो घर छाडेर पाकिस्तान भाग्नुप¥यो ।
तर, आर्थिक अभावका कारण पुनः स्वदेश फर्किन बाध्य भए । स्थिति झनै बिग्रियो जब सन् २०१८ मा तालिवानको आक्रमण बढेपछि उनीहरू काबुल विस्थापित हुनुप¥यो । हाजरा अल्पसंख्यक समुदायका मुर्तजाको बाल्यकाल साथीहरूसँग फुटबल खेल्नुको साटो कोठाभित्रै त्रास र अलगावमा बित्यो । एउटा अबोध बालकको साँचो सपनाले उनलाई क्षणिक खुसी त दियो, तर त्यसको बदलामा उनको बाल्यकाल, शिक्षा र घरको खुसी खोसिदियो । मुर्तजाको यो वास्तविकताले कहिलेकाहीँ सपना पूरा हुनुको मूल्य सोचेभन्दा धेरै बोझिलो हुन सक्छ भनेर दर्शाउँछ ।











प्रतिक्रिया