जाइका अध्यक्ष डा. तनाकाद्वारा नेपाल-जापानबीच मानवीय सम्बन्ध सुदृढ बनाउन जोड


काठमाडौं

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तनाका अकिहिकोले नेपाल र जापानबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन पूर्वाधार विकाससँगै मानवीय स्रोत तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल भ्रमणका क्रममा सोमबार जाइका एलुम्नाइ एसोसिएसन अफ नेपाल (जान) का कार्यसमितिसँग भएको भेटवार्तामा उनले भौतिक पूर्वाधार विकास नेपालको प्रगतिका लागि महत्त्वपूर्ण भए पनि विकासशील मुलुकका लागि ‘मानवीय पूर्वाधार’को विकास अझ बढी आवश्यक रहेको धारणा व्यक्त गरे।

नागढुंगा–नौबिसे सुरुङमार्ग उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका डा. तनाकाले जानले नेपाल र जापानबीच जनस्तरको सम्बन्ध विस्तार गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरे। स्वागत कार्यक्रम आयोजना गरेकोमा जानप्रति आभार व्यक्त गर्दै उनले नेपालमा निर्माण सम्पन्न भएको देशकै पहिलो सडक सुरुङमार्ग उद्घाटनको ऐतिहासिक अवसरमा सहभागी हुन पाउँदा गौरवान्वित भएको बताए।

भेटमा जानका अध्यक्ष डा. रामचन्द्र भुसालले संस्थाले सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै नेपाल र जापान सरकारबीच मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धन गर्न जानले निरन्तर योगदान दिँदै आएको बताए। उनले दक्षिण एशियाली जाइका एलुम्नाइ एसोसिएसन फोरमको गतिविधिबारे पनि जानकारी गराएका थिए।

डा. तनाकाले जान तथा अध्यक्ष डा. भुसालले नेपाल–जापानबीच मानवीय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै जनस्तरको सम्पर्क अभिवृद्धिमा संस्थाले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे। साथै, दक्षिण एशियाभरि जाइका एलुम्नाइ संस्थाहरूबीच सहकार्य विस्तार गर्न जानले नेतृत्वदायी भूमिका खेलेको भन्दै उनले त्यसको पनि सराहना गरे। भेटवार्तामा नेपाल र जापानबीच आपसी हितका विविध विषयमा समेत छलफल भएको थियो।