काठमाडौं ।
जापानको नारितामा आयोजना हुने ३२औँ विश्व चिल्ड्रेन बेसबल महोत्सव २०२६ मा सहभागिता जनाउन जाने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिदाइ गरेको छ ।
वर्ल्ड बेसबल सफ्टबल महासङ्घ (डब्लूबीएससी) र वर्ल्ड चिल्ड्रेन बेसबल फाउन्डेसन (डब्लूसीबीएफ) को संयुक्त आयोजनामा जुलाई ३० देखि अगस्ट ७ सम्म सञ्चालन हुने उक्त महोत्सवका लागि छ सदस्यीय नेपाली टोलीलाई सोमबार एनओसी भवनमा आयोजित एक कार्यक्रमका बीच शुभकामनासहित बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सानै उमेरमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभयो । अध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नुका साथै खेल भावना, अनुशासन र सम्मान कायम राख्न तथा विश्वका अन्य देशका खेलाडीहरूसँग मित्रता बढाएर नेपालको सद्भावना दूतका रूपमा प्रस्तुत हुन प्रोत्साहन गर्नुभयो।
महोत्सवका लागि प्रस्थान गर्ने पाँच सदस्यीय नेपाली टोलीका खेलाडीहरूमा अभिनव श्रेष्ठ, भूमिका खड्का, खुशी श्रेष्ठ, सङ्कल्प पौडेल र युएल रोका रहेका छन् । यस्तै टोलीको प्रशिक्षकको भूमिकामा विपिन वज्राचार्य रहनुभएको छ । एनओसी भवनमा आयोजित बिदाइ समारोहमा एनओसीका महासचिव राजीव श्रेष्ठ, सह-महासचिव रामजीबहादुर श्रेष्ठ, सचिव रामकृष्ण श्रेष्ठ, पूर्व उपाध्यक्ष तेजबहादुर गुरुङका साथै नेपाल बेसबल तथा सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपाने, महासचिव प्रदीप शाह र सदस्य प्रशान्त दाहालको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया