स्वास्थ्यकर्मीमाथिको हिंसाविरुद्ध माइतीघरमा चिकित्सकको शान्तिपूर्ण प्रदर्शन


काठमाडौं।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको सांघातिक आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षित कार्यस्थल सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले “बिरामीको पीडा बुझ्छौं, हिंसाको भाषा बुझ्दैनौँ”, “सेवाको पुरस्कार हिंसा होइन, सम्मान हो”, “स्वास्थ्यकर्मीको सम्मान गरौँ”, “सुरक्षित कार्यस्थल सुनिश्चित गरौँ”, “We Heal, You Don’t Hurt Us” तथा “उपचार खोज्ने हात, प्रहार गर्ने हात किन बन्छ?” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले स्वास्थ्य संस्थाभित्र हुने भौतिक आक्रमण, तोडफोड र धम्कीका घटनाले स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने बताएका छन्। उनीहरूले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन, अस्पतालको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्।

शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेको थियो। गम्भीर घाइते भएका डा. रामलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।

उक्त घटनापछि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सुरक्षित कार्यस्थलको माग गर्दै विरोध तथा ऐक्यबद्धता कार्यक्रम सञ्चालन गरिरहेका छन्।