काठमाडौं
नारायणी अस्पताल, वीरगञ्जमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आइतबार ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ।
मन्त्रालयका अनुसार डा. रामलाई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ भने आवश्यक सम्पूर्ण उपचार व्यवस्थापन मिलाइएको छ। उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै मन्त्री मेहताले सरकारले घाइते चिकित्सकको उपचारमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उपचारका क्रममा बिरामीको मृत्युजस्ता घटनाको निष्पक्ष छानबिनका लागि प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारिएको छ। यस्ता घटनाप्रति मन्त्रालयले शून्य सहनशीलताको नीति अपनाएको पनि उल्लेख गरिएको छ।
मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्भय भएर सेवा प्रवाह जारी राख्न र अस्पतालमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य भएको बताउँदै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने पनि बताउनुभयो।
नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डा। प्रमोद राममाथि कुटपिट गरेको थियो। गम्भीर घाइते भएका उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो।











प्रतिक्रिया