काठमाडौँ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८३/८४ को वैशाख महिनाको मासिक योजनाअन्तर्गत निर्धारित लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई लक्षित गर्दै ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै त्यसका लागि नियामक निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति आभार व्यक्त गरे। उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई अझ गुणस्तरीय सेवा प्रदान गर्दै अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एमडीआरटी (MDRT) लक्ष्य हासिल गर्न आवश्यक रणनीति, कार्यशैली र व्यावसायिक सीपबारे प्रशिक्षण दिएका थिए।
प्रशिक्षणपछि आयोजित सांस्कृतिक कार्यक्रममा स्ट्यान्डअप कमेडियन सुमन कार्की, गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले प्रस्तुति दिएका थिए। साथै, गायक दीपक बज्राचार्य एन्ड रिदम ब्याण्डको लाइभ कन्सर्ट तथा डिजे अमुको प्रस्तुतीले सहभागी अभिकर्तालाई मनोरञ्जन प्रदान गरेको कम्पनीले जनाएको छ।











प्रतिक्रिया