नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर हुने


काठमाडौँ । 

नेपालको सबैभन्दा पुराना र प्रतिष्ठित ‘ए’ डिभिजन फुटबल क्लबमध्येको एक काठमाडौँ खेलमण्डल (एनआरटी) ले आगामी साउन १३ देखि २३ गतेसम्म ‘प्रथम एनआरटी नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । 

त्रिपुरेश्वरस्थित क्लबकै भवनमा सञ्चालन हुने यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकको तर्फबाट एक जना गरी कूल १६ जना खेलाडीहरूको प्रतिस्पर्धा रहनेछ । चार समूहमा विभाजन गरिने सहभागी खेलाडीहरूमध्ये प्रत्येक समूहका शीर्ष दुई खेलाडी नकआउट चरणमा प्रवेश गर्ने व्यवस्था मिलाइएको प्रतियोगिताका संयोजक राजेन्द्र शाक्यले जानकारी दिनुभएको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १११ रुपियाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछ भने उपविजेतालाई ५१ हजार रुपियाँ र ट्रफी प्रदान गरिनेछ। 

त्यस्तै, सेमिफाइनलसम्म पुग्ने दुई खेलाडीले जनही २५ हजार रुपियाँ र ट्रफी हात पार्नेछन् । विशेष प्रदर्शनतर्फ सेन्चुरी ब्रेक गर्ने खेलाडीका लागि २५ हजार रुपियाँ र ८० अंकभन्दा बढीको ‘हाएस्ट ब्रेक’ गर्ने खेलाडीका लागि २० हजार रुपियाँ नगद दामाशाहीसहित ट्रफीको व्यवस्था गरिएको छ । वि.सं. १९९१ मा स्थापित भई ९२ वर्षभन्दा लामो ऐतिहासिक पृष्ठभूमि बोकेको एनआरटीले फुटबल र क्रिकेटका अलावा बिलियार्ड्स, स्नूकर, टेबलटेनिस र हक्कीजस्ता खेलहरूको विकासमा पनि निरन्तर योगदान पुर्‍याउँदै आएको क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताउनुभयो । 

उहाँका अनुसार क्लबले निकट भविष्यमै क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने योजना बनाएको छ । एनआरटीका महासचिव सतिसकृष्ण श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र खेल संस्कृतिको प्रवर्द्धनमा क्लबले अग्रणी भूमिका खेल्दै आएको जोड दिनुभयो भने नेपाल बिलियार्ड, स्नूकर तथा पुल संघका अध्यक्ष सरोज मुल्मीले देशमा स्नूकर खेलको स्तर उकास्न संघले विभिन्न नयाँ कार्यक्रमहरूको रूपरेखा तयार पारिरहेको जानकारी दिनुभयो । प्रतियोगिताका सम्पूर्ण खेलहरू एनआरटीको आधिकारिक फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।