काठमाडौँ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्ने सुविधा सुरु गरेको छ। अब नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी वा सम्बन्धित लिंकमार्फत ग्लोबल आइएमई बैंकमा सहज रूपमा खाता खोल्न सक्नेछन्। यो सेवा नेपालमै पहिलो पटक नागरिक एपसँग एकीकृत रूपमा सञ्चालनमा ल्याइएको बैंकको दाबी छ।
यस सुविधाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नेपाली नागरिकले अनलाइनबाटै खाता खोल्न सक्नेछन्। खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्ने भएकाले पुनः विवरण भर्नुपर्ने झन्झट नहुने र व्यक्तिगत सूचनाको गोपनीयता पनि सुनिश्चित हुने बैंकले जनाएको छ।
अनलाइनबाट खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भई वा भिडियो केवाईसी (KYC) मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार यो सेवाले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै बैंकिङ सेवालाई थप सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने विश्वास लिइएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रिया अझ सहज, पारदर्शी र प्रभावकारी हुने अपेक्षा बैंकको छ।
ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा परिचित छ। बैंकले ३४२ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।











प्रतिक्रिया