ग्ल्यामरभन्दा बढी चर्चामा उर्वशीको केतली आकारको ब्याग


काठमाडौं ।

अभिनेत्री उर्वशी रौतेला फेरि एकपटक आफ्नो फरक फेसन शैलीका कारण चर्चामा आएकी छन्। आइफा कनेक्स २०२६ को रेड कार्पेटमा उनले आकर्षक पोशाकसँगै चियाको केतली आकारको अनौठो ह्यान्डब्याग बोकेपछि सबैको ध्यान उनीतर्फ खिचिएको हो। चम्किला क्रिस्टलले सजिएको उक्त ब्याग सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कार्यक्रममा उर्वशीले गाढा निलो रंगको जमिनसम्म लामो गाउन लगाएकी थिइन्। स्वीटहार्ट नेकलाइन र कोर्सेट शैलीमा तयार गरिएको गाउनको तल्लो भाग लामो ट्रेलसहित डिजाइन गरिएको थियो भने अगाडिको चम्किलो ब्रोचले उनको लुकलाई थप आकर्षक बनाएको थियो।

उनले हिरा र निलो रत्न जडित हार, मिल्दोजुल्दो झुम्का, दुवै हातमा ठूला ब्रेसलेट तथा चाँदी रंगका हाई हिल्स लगाएर आफ्नो शैलीलाई अझ भव्य बनाएकी थिइन्।

तर सबैभन्दा धेरै चर्चा भने उनले बोकेको चियाको केतली आकारको ह्यान्डब्यागको भयो। परम्परागत क्लचको सट्टा उनले चाँदी र निलो रंगका चम्किला क्रिस्टलले सजिएको केतली आकारको ब्याग बोकेकी थिइन्। सिल्भर चेनले सजाइएको उक्त ब्यागले रेड कार्पेटमा उपस्थित सबैको ध्यान तान्यो र क्यामेराको मुख्य आकर्षण बन्यो।

मेकअपतर्फ पनि उर्वशीको शैली फरक देखिएको थियो। चम्किलो छाला, हल्का ग्लोसी मेकअप, सिमरी आई मेकअप, बाक्ला परेला, न्युड लिप्स तथा आँखामुनि सजाइएका साना चम्किला स्टोनले उनको सम्पूर्ण लुकलाई विशेष बनाएको थियो। साइड पार्टिङ गरिएको खुला कपालले उनको सौन्दर्यलाई अझ निखारेको थियो।

तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले उनको अनौठो ब्यागलाई लिएर रमाइला प्रतिक्रिया दिएका छन्। कतिपयले त्यसलाई ‘अलादिनको चिराग’सँग तुलना गरेका छन् भने केहीले ‘टी वाक’ र ‘चिया वाक’ भन्दै ठट्टापूर्ण टिप्पणी गरेका छन्। अर्कोतर्फ धेरै प्रशंसकले भने उर्वशीको आत्मविश्वास र नयाँ फेसन प्रयोग गर्ने साहसको खुलेर प्रशंसा गरेका छन्।

उर्वशी रौतेला यसअघि पनि आफ्ना भव्य र फरक फेसन छनोटका कारण चर्चामा रहँदै आएकी छन्। यसपटक पनि उनको केतली आकारको ह्यान्डब्याग सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चामा परेको फेसन एक्सेसरीमध्ये एक बनेको छ। फेसन पारखीहरूका अनुसार रेड कार्पेटमा सबैको ध्यान आफूतर्फ तान्ने कला उर्वशीलाई राम्रोसँग थाहा छ, त्यसैले उनको हरेक नयाँ शैली चर्चाको विषय बन्ने गरेको छ।