सुनसरी घटना : सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति


काठमाडौँ।

सुनसरीमा सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ।

यहाँको देवानगञ्जमा आइतवार दुई समूहको झडपपछि उग्र बनेपछि सोमवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो।

सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए।

बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न अनुरोध गरेका छन्।

आइतवार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा हिंसात्मक झडप भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

झडपमा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका प्रहरीले जनाएको छ।