काठमाडौं।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उपचारका क्रममा बिरामीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
मन्त्रालयले घटनापछि अस्पतालमा भएको तोडफोड र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको उल्लेख गर्दै यस्ता हिंसात्मक घटनाप्रति शून्य सहनशीलताको नीति दोहोर्याएको छ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएको आशंका भए त्यसको छानबिन र न्यायका लागि प्रचलित कानुनअनुसार व्यवस्था रहेको उल्लेख गर्दै हिंसात्मक गतिविधि कुनै पनि समस्याको समाधान हुन नसक्ने स्पष्ट पारिएको छ।
मन्त्रालयले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैले यसको संवेदनशीलतालाई बुझ्न आवश्यक रहेको जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्भय, सुरक्षित र उच्च मनोबलका साथ सेवा दिन सक्ने वातावरण बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न र सर्वसाधारणलाई संयमित भई अस्पतालको सेवा अवरुद्ध नहुने वातावरण बनाउन सहयोग गर्न अपिल गरेको छ।











प्रतिक्रिया