मन्त्री लम्सालले भने– नागढुङ्गा सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गर्छौं, इतिहास मेटिँदैन


काठमाडौं ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै शिलान्यासको शिलालेख हराएको विषयमा उठेको विवादको अन्त्य हुने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अंकित शिलालेख पुनःस्थापना गरिने घोषणा गरेका छन्।

सुरुङमार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख हटाइएको नभई सुरुङको डिजाइनअनुसार अस्थायी रूपमा सारिएको स्पष्ट पारे। उनका अनुसार सुरुङ प्रवेशद्वार क्षेत्रमा सीसी क्यामरा राख्ने संरचना निर्माण गर्नुपर्ने भएकाले शिलालेख पूर्ववत् स्थानबाट हटाइएको थियो र अब उपयुक्त स्थानमा पुनःस्थापना गरिनेछ।

‘शिलान्यासको शिलालेख पनि हाम्रो इतिहासको एउटा अभिलेख हो। त्यसलाई पुनःस्थापना गर्छौं,’ मन्त्री लम्सालले भने।

२०७६ कात्तिक ४ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका थिए। त्यसपछि शिलालेखलाई सडक विभागको बबरमहलस्थित कार्यालयमा सुरक्षित राखिएको थियो।

तर, जेन–जी आन्दोलनका क्रममा सडक विभागको कार्यालयमा भएको आगलागीमा उक्त शिलालेख जलेर नष्ट भएको विभागले जनाएको थियो। यही विषयलाई लिएर पछिल्ला दिनमा विभिन्न राजनीतिक तथा सामाजिक वृत्तमा शिलालेख जानाजानी हटाइएको भन्दै आलोचना भइरहेको थियो।

मन्त्री लम्सालले सुरुङमार्ग नेपालको आधुनिक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै अब देशका विभिन्न स्थानमा आवश्यकता अनुसार यस्ता सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने बताए।

उनले भने, ‘यो सुरुङले हामीलाई धेरै अनुभव दिएको छ। अब नेपाल सुरुङ युगमा प्रवेश गरेको छ। आगामी दिनमा देशभर आवश्यकताअनुसार यस्ता आयोजना अघि बढाइनेछन्।’

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यस आयोजनामा २.६८८ किलोमिटर लामो मुख्य सुरुङ र २.५५७ किलोमिटर लामो सहायक सुरुङ निर्माण गरिएको छ।

यस आयोजनाको सम्भाव्यता अध्ययन २०६६/६७ सालतिर सुरु भएको थियो। २०७६ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेको आयोजना, मुख्य सुरुङको ‘ब्रेकथ्रु’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका बेला सम्पन्न भएको थियो भने अहिले यसको औपचारिक उद्घाटन भएसँगै सञ्चालनको चरणमा प्रवेश गरेको छ।