देवानगञ्ज हिंसा छानबिन गर्न उच्चस्तरीय समिति गठन


काठमाडौं।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप र त्यसपछि उत्पन्न तनावको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय सुरक्षा बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसहित उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार समितिमा सुरक्षा निकायका प्रतिनिधि, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य–सचिव रहनेछन्। समितिको संयोजकको रूपमा रहने सहसचिवको नाम भने मन्त्रालयले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार विद्युत् पोलमा राखिएको धार्मिक झण्डा हटाउने विषय र मन्दिरमा ठूलो आवाजमा बजाइएको डीजेलाई लिएर सुरु भएको विवाद आइतबार राति उग्र बन्दै दुई समुदायबीच झडपमा परिणत भएको थियो।

झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा केही स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी पनि घाइते भएका छन्।

घटनापछि थप हिंसा फैलिन नदिन स्थानीय प्रशासनले देवानगञ्ज तथा आसपासका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ। प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा दुवै समुदायसँग समन्वय गरेर सामाजिक सद्भाव र शान्ति कायम राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

मन्त्रालयले नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन र संयम अपनाउन समेत आग्रह गरेको छ। छानबिन समितिले घटनाको वास्तविक कारण, सुरक्षा व्यवस्थाको अवस्था तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्ने अपेक्षा गरिएको छ।