थाइल्यान्डबाट नेपाललाई ३ स्वर्ण र १ रजत पदक


नेपाली नृत्यकर्मीले अन्तर्राष्ट्रिय मञ्चमा फेरि एकपटक देशको शिर उच्च बनाएका छन्। हालै थाइल्यान्डमा आयोजित ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६ मा १६ देशका प्रतिस्पर्धीलाई उछिन्दै नेपालले ३ स्वर्ण र १ रजत पदक जितेर ऐतिहासिक सफलता हासिल गरेको हो।

फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डसहित विभिन्न देशका उत्कृष्ट टोलीबीच भएको कडा प्रतिस्पर्धामा नेपाली टोलीले आफ्नो उत्कृष्ट कला र प्रस्तुति प्रदर्शन गर्दै निर्णायक र दर्शकको मन जितेको छ। हालै सम्पन्न वल्र्ड अफ डान्स नेपाल २०२६ बाट छनोट भई थाइल्यान्ड पुगेको १६ सदस्यीय नेपाः डान्स एकेडेमी (एनडिए) जुनियर क्रुले टिन्स डिभिजन र मेगा क्रु डिभिजनमा प्रथम स्थान तथा जुनियर टिम डिभिजनमा द्वितीय स्थान प्राप्त गर्दै नेपालका लागि दुई स्वर्ण र एक रजत पदक जितेको हो। साथै, टोलीले बेस्ट आउटफिट र बेस्ट कोरियोग्राफी उपाधिसमेत आफ्नो नाममा पार्न सफल भएको छ।

प्रतियोगितामा रितिका मर्हजन, अतीत न्यौपाने, त्रिनव महर्जन, फिन्जु तामाङ, संयम गुरुङ, पासाङ तामाङ, फुर्साङ लामा, वञ्जला महर्जन, बिमिशा डंगोल, मायरा प्रजापति, समाइरा शाक्य गुरुङ, ओमित्या महर्जन, शलिन श्रेष्ठ, मानकी तामाङ,सुयश कन्नौजिया र परी शाहीले प्रतिस्पर्धा गरेका थिए। टोलीको नेतृत्व भने रोहिया महर्जन र सृष्टि महर्जन तथा कोरियोग्राफी सृष्टि महर्जन, स्वस्तिक अर्याल र सरोज मोक्तानले गरेका थिए। प्रतियोगितामा विश्वभरका सयौ“ उत्कृष्ट डान्सर, प्रशिक्षक र कोरियोग्राफरको सहभागिता रहेको थियो।

त्यसैगरी, प्रतियोगितामा सहभागी टिम एनटीले नेपाली लोकसंस्कृतिको झल्को दिने आकर्षक प्रस्तुति प्रस्तुत गर्दै लोक विधामा स्वर्ण पदक जितेको छ। खुला (ओपन) विधातर्फ भने नेपाल चौथो स्थानमा रहन सफल भएको आयोजकले जनाएका छन्। प्रतियोगिताको सबैभन्दा भावुक क्षण भने नेपाली टोली विजेता घोषित भएपछि हलभर नेपालको राष्ट्रिय गान गुञ्जिनु र राष्ट्रिय झन्डा फहराउनु थियो।

प्रतियोगितामा नेपाली नृत्य निर्देशक तथा कोरियोग्राफर जेडी तमू निर्णायकको भूमिकामा देखिए। उनीस“गै विश्वप्रसिद्ध पप गायक जस्टिन बिबरको चर्चित गीत सरीकी कोरियोग्राफर तथा न्युजिल्यान्डकी चर्चित डान्सर काया पियर्सले पनि निर्णायकको जिम्मेवारी सम्हालेकी थिइन्। ग्लोबल डान्स लिग नेपालको राष्ट्रिय निर्देशन भने रोशन गहतराजले गरेका थिए।