डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा उपचार हुँदै

0
Shares

धनगढी ।

स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न मागहरू राख्दै गत ३ दिनदेखि धनगढीमा आमरण अनशनमा बस्नुभएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) को बेड नम्बर २ मा भर्ना गरी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार सुरु गरिएको छ। सेती प्रादेशिक अस्पताल प्रशासनले आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको आधिकारिक जानकारी दिएको हो।

डा. केसीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक डा. गजेन्द्र दुवालका अनुसार उहाँको शरीरका मुख्य सूचकहरू निकै कमजोर देखिएका छन्। हाल डा. केसीको रक्तचाप ९०÷६० मा झरेको छ भने रगतमा चिनीको मात्रा ५० देखि ६० mन÷मी सम्म पुगेको छ । लामो समयदेखिको अन्नत्यागका कारण उहाँको पिसाबमा किटोनको मात्रा देखिएको छ, जसले शरीरमा ऊर्जाको चरम अभाव भएको संकेत गर्दछ। यसका साथै शरीरमा सोडियम तथा सेतो रक्तकोषको मात्रा लगातार घट्दो क्रममा रहेको, मांसपेशी बाउडिने समस्या देखिएको र अत्यधिक कमजोरीका कारण उहाँलाई बोल्न तथा हिँडडुल गर्न समेत गम्भीर असहजता भइरहेको चिकित्सक दुवालले जानकारी दिनुभएको छ।

यस्तो जटिल अवस्थामा पनि डा. केसीले आफ्नो अनशन जारी राख्दै सुगर बढाउने औषधि तथा स्लाइन लिन अस्वीकार गरिरहनुभएको छ । उहाँले उपचार लिन नमाने पनि उहाँको स्वास्थ्यमा आउन सक्ने थप जोखिमलाई रोक्न अस्पताल प्रशासन र चिकित्सक टोली पूर्ण रूपमा प्रतिबद्ध देखिएको छ। अस्पतालले डा. केसीको स्वास्थ्यको २४ सै घण्टा सघन अनुगमन गर्नका लागि चिकित्सकहरूको नेतृत्वमा ४ सदस्यीय उपचार टोली गठन गरेको छ, जसले उहाँको अवस्थाको निरन्तर निगरानी गरिरहेको छ।

यसैबीच डा. केसीको पछिल्लो स्वास्थ्य स्थिति बुझ्न सरकारी अधिकारीहरू अस्पताल पुगेका छन्। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार शिक्षा मन्त्रालयका सचिव र कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सघन उपचार कक्षमै गएर डा. केसीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनुभएको छ। चिकित्सकहरूले डा. केसीको स्वास्थ्य स्थिति कुनै पनि बेला थप नाजुक हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।