एमाले–माओवादीबीच प्रदेश सरकारको नयाँ सहमति सार्वजनिक, पाँच प्रदेशको नेतृत्व टुंगियो


काठमाडौं ।

नेकपा (एमाले) र नेकपा बीच प्रदेश सरकार गठन तथा नेतृत्व बाँडफाँडसम्बन्धी सहमति पत्र सार्वजनिक भएको छ। उक्त दस्तावेजमा दुवै दलका शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर गर्नु भएको छ ।

सार्वजनिक भएको सहमति पत्रअनुसार प्रदेश सरकारहरूमा संयुक्त रूपमा सहकार्य गर्दै सरकार गठन गर्ने निर्णय गरिएको उल्लेख छ। दस्तावेजमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको उल्लेख गरिएको छ।

त्यसैगरी मधेश र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको जनाइएको छ।

सहमति पत्रको सुरुवातमा प्रदेश सभाहरूमा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेट विनियोजनका विवाद तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्यालाई समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र तीव्र विकासलाई प्राथमिकता दिने उद्देश्यले सहमति भएको उल्लेख गरिएको छ।

हाल प्रदेश सरकारहरूको समीकरण परिवर्तन, नेतृत्व हेरफेर तथा नयाँ गठबन्धनको सम्भावनाबारे राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेका बेला यस्तो सहमति पत्र सार्वजनिक भएपछि त्यसले थप राजनीतिक चासो र बहस सिर्जना गरेको छ। विशेषगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्वबारे स्पष्ट सहमति उल्लेख गरिएकाले आगामी दिनमा प्रदेश सरकार पुनर्गठनको प्रक्रिया अघि बढ्न सक्ने अनुमान गरिएको छ।