त्रियुगाका पैतिस सहकारी निष्कृय

282
Shares

उदयपुर ।

विगतमा जिल्ला सहकारी कार्यालय तथा त्रियुगा नगरपालिकामा दर्ता भएर आर्थिक वर्ष ०७९ । ०८० देखि निष्कृय भएका ३५ वटा सहकारी सस्थाहरुको नामावली त्रियुगा नगरपालिकाको सहकारी तथा उद्यम विकास शाखाले सार्वजनिक गरेको छ ।

त्रियुगा नगरपालिका सहकारी ऐन २०७५ को दफा २८ को उपदफा २ बमोजिम सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्ष समापत् भएको ६ महिनाभित्र साधारण सभा बोलाउनुपर्ने उल्लेख छ । सोही ऐनको दफा ५४ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखपरीक्षकबाट लेखा परीक्षण गराउनु पर्ने प्रावधान छ । दफा ५२ को उपदफा १ बमोजिम सहकारीका विवरणहरु सहकारी विवरणहरु सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने उल्लेख छ । लगातार २ वर्ष वा सोभन्दा बढी समयसम्म पनि विवरण पेश नगरेको कारण ति सहकारीहरुलाई नगरपालिकाको मिति २०८३ ।२।२९ मा बसेको ६२ औ कार्यसमितिको बैठकद्धारा निष्कृय घोषणा गरेको हो ।

सो बैठकको निर्णय अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्रमा नियमानुसार बुझाउनु पर्ने कागजातहरु बुझाउन सहकारी संचालकहरुलाई जानकारी गराइएको छ । तोकिएको समयसिमाभित्र आवश्यक कागजात नबुझाउने सहकारीहरको हकमा कानुन अनुसार संकटग्रस्त घोषणा गरी खारेजी प्रकृया अघि बढाइने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७९ । ०८० देखि हालसम्म निष्कृय रहेका सहकारी संस्थाहरुमा त्रियुगा नगरपालिका वडा नं ४ का ६ वटा, वडा नं ५को २ वटा, वडा न.६, ७ र ८ को २,२ वटा, वडा नं १० को ४ वटा , वडा नं ११ को ९ वटा , वडा नं १२ को ३ वटा वडा नं १३ को २ वटा वडा नं १४ को १ वटा र वडा नं १५ को २ वटा रहेको छ ।

निष्कृय रहेका ति सहकारीहरुलाई हालसम्म नबुझाएको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वार्षिक नीति तथा योजना, खुद बचत रकम, संचालकहरुको तीनपुस्ते सहितको नाम ठेगाना तथा बाँकीकार्य अवधीको सूची उपलब्ध गराउन सूचना जारी भएको छ ।

यसरी नै अन्य कागजातहरुमा साधारणसभाको बैठक सम्बन्धी जानकारी, सेयर सदस्य संख्या र सेयरपुँजीको विवरण, संचालम वा सदस्यहरुले लिएको ऋण मध्ये तिर्न बाँकी रकमको विवरण माग गरिएको छ । विभिन्न कोषहरुको नाम र ति कोषमा रहेको रकम, वार्षिक रुपमा ऋण लगानी गर्न सकिने रकमको अधिकतम सिमा, सहकारी रजिष्टरले समय समयमा तोकिदिएका अन्य विवरणहरु र संचालक लेखा तथा व्यवस्थापकको सम्पति विवरणहरु सहित सम्पर्कमा आउन निमित्त प्रमुख प्शासकीय अधिकृत राजकुमार खड्काद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।