वैदेशिक रोजगारीको प्रलोभन देखाएर १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं ।

आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन हुने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ओखलढुंगाको लिखुतामाकोशी गाउँपालिका–९ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने २९ वर्षीय सुरेश घिमिरे पक्राउ परेका हुन्।

घिमिरेले पीडितलाई पोर्चुगल पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोप छ। पीडितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा उनलाई शुक्रबार काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका घिमिरेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।

यसैबीच, वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थायी घर भएका ५१ वर्षीय राजकुमार भण्डारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्धको ठगीसम्बन्धी विवरण र अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।