काठमाडौं ।
नीलो र सेतो प्लास्टिकको पोकालाई धागोले गाँसेर बनाइएको जर्सी, जसको पछाडि नीलो मसीले कोरिएको थियो एउटा नाम ‘मेसी’। सन् २०१६ मा अफगानिस्तानको दुर्गम गज्नी प्रान्तका पाँच वर्षिया बालक मुर्तजा अहमादीको यो तस्बिरले रातारात सम्पूर्ण विश्वको ध्यान तानेको थियो । गरिबी र युद्धको छायाँमा हुर्किएका मुर्तजाका लागि फुटबल केवल खेल मात्र थिएन, खुसी पाउने आश थियो । जब उनका दाजुले प्लास्टिकको पोकाबाटै भए पनि मेसीको जर्सी बनाइदिए, अनि त्यो केवल एउटा कपडा मात्रै रहेन, फुटबलप्रतिको चोखो र असीम मायाको प्रतीक बन्यो ।
सामाजिक सञ्जालमा भाइरल भएको त्यो सादगीले भरिएको तस्बिर स्वयम् लियोनेल मेसीसम्म पुग्यो । युनिसेफको पहलमा मेसीले हस्ताक्षर गरेको वास्तविक जर्सी र फुटबल पाएपछि मुर्तजाको खुसीको सीमा रहेन। त्योभन्दा ठूलो चमत्कार तब भयो जब कतारको मैदानमा मुर्तजाले आफ्ना भगवान्तुल्य खेलाडीको हात समातेर प्रवेश गरे । मेसीलाई अङ्कमाल गर्दै बालकले दिएको त्यो निश्छल मुस्कान खेल जगत्कै भावुक र प्रेरणादायी क्षणमध्ये एक बन्यो ।
तर, रातारात मिलेको यो विश्वव्यापी प्रसिद्धि मुर्तजा र उनको परिवारका लागि एउटा भयानक अभिशाप बन्न पुग्यो । मानिसहरूले मेस्सीले उनीहरूलाई ठूलो धनराशि दिएको गलत अनुमान गरे । जसका कारण स्थानीय आपराधिक समूह र छिमेकीहरूको गिद्धे नजर उनीहरूमाथि पर्यो । निरन्तर आउन थालेका फिरौतीका धम्की र अपहरणको डरले गर्दा उनीहरूको शान्त जीवन तितरबितर भयो । ज्यान जोगाउन उनीहरूले गज्नी प्रान्तस्थित आफ्नो घर छाडेर पाकिस्तान भाग्नुपर्यो ।
तर, आर्थिक अभावका कारण पुन: स्वदेश फर्किन बाध्य भए । स्थिति झनै बिग्रियो जब सन् २०१८ मा तालिवानको आक्रमण बढेपछि उनीहरू काबुल विस्थापित हुनुपर्यो । हाजरा अल्पसंख्यक समुदायका मुर्तजाको बाल्यकाल साथीहरूसँग फुटबल खेल्नुको साटो कोठाभित्रै त्रास र अलगावमा बित्यो । एउटा अबोध बालकको साँचो सपनाले उनलाई क्षणिक खुसी त दियो, तर त्यसको बदलामा उनको बाल्यकाल, शिक्षा र घरको खुसी खोसिदियो । मुर्तजाको यो वास्तविकताले कहिलेकाहीँ सपना पूरा हुनुको मूल्य सोचेभन्दा धेरै बोझिलो हुन सक्छ भनेर दर्शाउँछ ।











प्रतिक्रिया