काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता लुम्बिनी लायन्सले उपाधि रक्षाको लक्ष्यसहित आफ्ना विदेशी खेलाडीका रूपमा देब्रेहाते तीव्र गतिका बलर रुबेन ट्रम्पलमनलाई पुनः टोलीमा भित्र्याएको छ ।
गत संस्करणमा टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका २८ वर्षीय ट्रम्पलमन ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए । उनले अघिल्लो सिजनका १० वटै खेल खेल्दै ६.७२ को उत्कृष्ट इकोनोमीमा १५ विकेट लिनुका साथै तल्लो क्रममा उपयोगी ४१ रन जोडेका थिए । विशेषगरी सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनल खेलमा २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिँदै उनी ‘प्लेयर अफ द फाइनल’ बनेका थिए ।
अनुभवी खेलाडी ट्रम्पलमनलाई पुनः टोलीमा भित्र्याउँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले उनीसँगको सम्झौता नवीकरण केवल औपचारिकता मात्र भएको र उनको उपस्थितिबाट टोलीले आफ्नो विरासत जोगाउँदै नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । नामिबियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ५३ ओडिआईमा ७७ र ५४ टी-२० मा ५४ विकेट लिइसकेका ट्रम्पलमनसँग युएईको आइएल टी-२० र क्यानडाको ग्लोबल टी-२० जस्ता नामी लिगहरू खेलेको अनुभव छ । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले यसअघि नै सन्दीप जोरा, शेर मल्ल र आसिफ शेखसहितका प्रमुख नेपाली खेलाडीहरूलाई टोलीमा समावेश गरिसकेको छ ।











प्रतिक्रिया