सिटिजन्स बैंकका ग्राहकले नेओटेरिक नेपालका इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट पाउने


काठमाडौं।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि. (नेओटेरिक नेपाल), झम्सिखेल ललितपुरबीच ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नेओटेरिक नेपालका विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट पाउने भएका छन्।

बैंकले यस्तो सहकार्यले आफ्ना ग्राहकलाई लाभ पुग्नुका साथै नगद कारोबारलाई डिजिटल भुक्तानीतर्फ प्रोत्साहित गर्ने विश्वास लिएको जनाएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन समय–समयमा विभिन्न ग्राहक लक्षित सुविधा तथा योजना सञ्चालन गर्दै आएको पनि जनाएको छ।

डिजिटल कारोबारमार्फत प्राप्त हुने छुट तथा अन्य सुविधासम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत उपलब्ध हुने बताइएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पछिल्लो समय डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिँदै आएको छ। बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो भने नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ जस्ता डिजिटल सुविधा पनि सुरु गरेको जनाएको छ।

त्यसैगरी बैंकले फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ अकाउन्ट’, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी–आर–एन नम्बर सेवा र क्रस बैंक टेलर सुविधासमेत सञ्चालनमा ल्याएको छ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ४८ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।